कैलालीको कैलारी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय दिपेन्द्र चौधरी (कुस्मी) लाई अभियोग दाबी नपुगेको भन्दै जिल्ला अदालतले सफाई दिएको छ । कुस्मीलाई जिल्ला अदालतले १६ मंसीरमा सफाई दिएको हो । ३२ जेठमा युवकले पसलमा बोलाएर मुखमा कपडा कोचेर बलात्कार गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । अत्यधिक रक्तस्राव भएर बेहोस भएकी बालिकालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएपछि मात्र घटना सार्वजनिक भएको थियो । त्यसपछि मात्रै युवक ११ असारमा पक्राउ परेका थिए ।
त्यस अघि पीडक पक्षले रकम दिएर मिलाउने प्रयास गर्दै घटना सार्वजनिक गरे ज्यान लिने धम्की समेत दिंदै आएको आफन्तले बताएका थिए । पीडितका आफन्तका अनुसार आरोपित युवालाई पुर्पक्षका लागि कारागार चलान पश्चात पनि पीडक परिवारले पटक पटक रुपैयाँमा मिल्न धम्की दिएको थियो । पीडित बालिकाले समेत अदालतमा दिपेन्द्रले पसलमा बोलाएर मुखमा कपडा कोचेर बलात्कार गरेको र घटनाबारे कसैलाई बताए हत्या गरिदिने धम्की दिएको बयान दिएकी थिइन् ।
जिल्ला सरकारी वकिल कार्यालय कैलालीका प्रमुख राजेन्द्रसिंह भण्डारीले पीडित बालिका अदालतमा उपस्थित भएर जाहेरीमा लेखिए अनुसारको नै घटनाबारे बयान दिएको बताए । उनले भने, “बालिकाको बयान अनुसार निर्णय आएको छैन । न्यायाधीशले पीडकलाई कसरी सफाई दिए थाहा भएन, अब हामी पुनरावेदन जान्छौं ।” पीडितका आफन्तले आफूहरू गरिब भएका कारण मुद्दा कमजोर भएको बताएका छन् ।
घटनाका वारेमा पिडित बालिकासँग पनि बयान नलिईएरै बलात्कारका आरोपीलाई छोडेको पिडितका बुबाको आरोप छ । उनीहरूले जबरजस्ती करणीको मुद्दा सरकारी वकिलले मात्रै हेर्ने भएकोले सरकारी वकिल र न्यायाधीशको मिलोमतोमा आर्थिक चलखेल भएको आशंका समेत व्यक्त गरे ।