कञ्चनपुरको कलुवापुर–बेलौरी सडक खण्ड निर्माण कार्यले गति लिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाको रुपमा रहेको कलुवापुर–बेलौरी सडकखण्ड निर्माण कार्यले पछिल्लो समय केहि हदसम्म भएपनि गति लिएको हो । चार वर्ष अघिबाट ठेक्का भएको कलुवापुर–बेलौरी सडक निर्माण कार्यले लामो समयको अन्तरालपछि गति लिएको छ । झण्डै चार वर्ष अघिबाट छुट्टाछुट्टै प्याकेजमा निर्माण सुरु भएर सम्पन्न हुन नसकेको कलुवापुर–बेलौरी सडक खण्ड निर्माणको कार्यले बल्ल गति लिएको हो ।
उक्त सडकखण्डको पहिलो प्याकेज अन्तर्गतको कलुवापुर–लालझाडी सडकखण्डमा माटो फिलिङ गर्ने तथा केही भागमा कालोपत्रे गर्ने कार्य सुरु भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरले जनाएको छ । सो कार्यालयका अनुसार कलुवापुर–लालझाडी सडकखण्डको सडक क्षेत्रमा प्रगति भने ५० प्रतिशत भएको छ । यस्तै, दोस्रो प्याकेज अन्तर्गतको लालझाडी–बैलौरी बजारसम्म सडकको पनि निर्माण कार्य सुरु भइसकेको छ । बेलौरी बजार क्षेत्रमा भने कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका इन्जिनियर जगदिश सार्कीले बताए ।
‘पहिलो प्याकेज सँगसँगै दोस्रो प्याकेज अन्तर्गत पर्ने सडक खण्डमा पनि सडक निर्माणको काम चलिरहेको छ’, इन्जिनियर सार्कीले भने, ‘विगतको भन्दाकेही हदसम्म सडक निर्माणको काम तीव्र भएको छ । यस्तै कामले गति पाउने हो भने सडक निर्माण सम्पन्न हुन धेरै समय लाग्दैन ।’ कलुवापुर–बेलौरी सडकखण्डको दुई ओटै प्याकेजका प्रगति हाल आएर ५० प्रतिशत पुगेको उनले बताए । लामो समयदेखी निमार्णधिन रुपमा रहेको उक्त सडक खण्डमा दिनहुँ सयौ सवारी साधन आवत जावत हुन्छन् । सो सडकखण्ड क्षेत्रमा लामो समयदेखि पक्की सडक निर्माणको काम चलिहरेको भएपनि निर्माण कार्यले गति पाएको अवस्था भने थिएन । तर, पछिल्लो केही महिनायता उक्त सडक खण्ड निर्माणले गति पाएपछि पूर्वाधार विकास कार्यालयपनि उत्साहित भएको छ ।
‘केन्द्र सरकार अन्तर्गतको सडक डिभिजन कार्यलयले शुरू गरेको उक्त सडक योजनाको सामित्व हस्तान्तरणमा ढिलाइ हुँदा निर्माण प्रभावित भएको अवस्था थियो’, इन्जिनियर सार्कीले भने, ‘केन्द्र सरकारपछि प्रदेश सरकारको गौरवको आयोजनामा परेपछि पूर्वाधार विकास कार्यालयले निकै तदारुक्ताका साथ निर्माण कार्यलाई अगाडि बढाएको छ ।’ करिब १८ करोड रुपैयाँमा सन्तोषी थेगिम जेभीले निर्माणको जिम्मा पाएको उक्त सडक एउटैै योजना भए पनि दुई प्याकेजमा काम भइरहेकोे छ । २०७३ भदौमा सुरु भएकोसडकको निर्माण २०७५ जेठसम्ममा सक्ने सम्झौता भए पनि समयमा काम सम्पन्न हुन सकेन । २०७७ फागुन मसान्त सम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी योजनाको म्याद थप गरिएकोे सार्कीले बताए ।
कुल ७ दशमलव ५ मिटर र कालोपत्रे ५ दशमलव ५ मिटर हुने यो सडकमा हाल ग्राभेल तथा कालोपत्रे निर्माणको कार्य भैरहेको छ । महेन्द्र राजमार्गबाट दक्षिणी क्षेत्र जोड्ने जम्मा २३ किलोमिटर लम्बाइको उक्त सडकखण्ड बेलैमा स्तरोन्नति नहुँदा यहाँका नागरिक कष्टकर यात्रा गर्न बाध्य भएका छन् । यसैबीच, कलुवापुर–बेलौरी सडकखण्ड निर्माण कार्यले गति लिएको बेला स्थानीयले समयमै सम्पूर्ण सडक सम्पन्न गर्नुपर्ने माग गरेका छन् । दोस्रो प्याकेजको बेलौरी बजार क्षेत्रमा निर्माण गरिन लागेको सडकमा बेलौरीमामात्रै नभएर कलवापुरसम्म नै कालोपत्रे हुनु पर्ने उनीहरुको माग छ ।
बेलौरीका स्थानीय जनकसिंह विष्टले स्थानीयले सदरमुकाम जान पनि धुलो खाएर जानुपर्ने बाध्यता भएको भन्दै निर्माण कम्पनीले बजार क्षेत्रमा मात्रै कालोपत्रे नगरेर कलुवापुरसम्मै कालोपत्रे गर्नुपर्ने बताए ।
‘विगतमा पनि वर्षको एक चोटी निर्माण कम्पनीले काम गरेजस्तो देखावटी गरेर केही दिनमै निर्माण कार्य बन्द गरेर स्थानीयलाई ठग्ने कार्य गर्दै आएको छ’, विष्टले भने, ‘सम्झौता भएको लामो समयपछि पनि ठेकेदारको लापरवाहीका कारण लामो समयदेखी सडक निर्माण हुन सकेको छैन ।’ ठेकेदारले सकड निर्माणमा ठग्दै आएको भएपनि यसपटक भने ठग्न नपाइने उनले बताए । यस्तै अर्का स्थानीय गोपाल प्रसाद पाण्डेयले पनि उक्त सडकखण्ड आफूहरुको दैनिकीसँग जोडिएको भन्दै निर्माण कम्पनीले समयमै निर्माण गर्न आवश्यक रहेको बताए ।
‘दक्षिणी क्षेत्र विकासबाट निकै टाढा रहेको छ, वर्षाै भैसक्यो, तर कलुवापुर–बेलौरी सडक खण्ड निर्माणको काम सम्पन्न भएको छैन’, पाण्डेयले भने, ‘साँझ विहान सदरमुकाम आवतजावत गर्न हिलो र धुलो खानुपर्ने बाध्यता रहेको छ । गुणस्तरयुक्त बाटो समयमै निर्माण गरिनु पर्दछ ।’ सडक समस्या कारण झन्डै ४० वर्षदेखि दुःख पाउँदै आएको स्थानीयले बताएका छन् । विगतदेखि नै सास्ती खेप्दै आएको उनीहरुको भनाइ छ ।
यसैबीच, लामो समयदेखी निमार्णधिन रुपमा रहेको कलुवापुर–बेलौरी सडक खण्ड समयमै सम्पन्न गराउन प्रदेश सरकार पनि अग्रसर देखिएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना अन्तर्गत रहेको उक्त सडक खण्ड समयमै सम्पन्न गराउन प्रदेश सरकारले निर्माण कम्पनीलाई ताकेदा गर्दै समयमै सम्पन्न गराउन अग्रसर देखिएको हो । सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य कुलवीर चौधरीले कलुवापुर–बेलौरी सडक खण्ड समयमै सम्पन्न गराउन प्रदेश सरकार अग्रसर भएको बताए ।
‘कलुवापुर–बेलौरी सडकखण्ड निर्माणको ठेक्का पाएको निर्माण कम्पनीलाई ताकेता गर्दै प्रदेश सरकारले महत्वका साथ उक्त आयोजनालाई हेरिरहेको छ ।’ सुदूरपश्चिम प्रदेश सभा सदस्य कसलविर चौधरीले भने, ‘प्रदेश गौरवको आयोजना भएकोले पनि समयमै सम्पन्न गनुपर्ने हुन्छ । ठेकेदारले पनि समयमै सम्पन्न गर्छु भन्ने प्रतिबद्धता समेत जाहेर गरेको अवस्था छ ।’ उक्त सडकखण्डलाई समयमै सम्पन्न गराउन प्रदेश सरकार लागि परेको उनले बताए ।