कैलालीमा युवकको हत्या गर्ने २ जना कारागार चलान, ३ जना धरौटीमा छुटे
2020/12/05, 11:48
 
adalat

कैलालीमा कुटपिट गरी युवकको हत्या गरेको अभियोग लागेका  २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। गत कार्तिकमा लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका २ जना पुर्पक्षका लागि कारागार चलान भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए। 

बिष्टका अनुसार हत्या आरोपमा पक्राउ परेका मानबहादुर चौधरी र केशव टमटालाई जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको हो। यस्तै हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जना धरौटीमा छुटेका छन् । कर्ण टमटा, केशव तिरुवा र लालमणी तिमिल्सिना १/१ लाख धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्टले बताए । 

तिमल्सिनामाथि गत कार्तिक १३ गते राति साढे १० बजेको समयमा जानकी गाउँपालिका –५ मा सो समूहले कुटपिट गरेको थियो  कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय टीकापुरले उनको हत्यामा संलग्न भएको आशंका पक्राउ गरी उनीहरुमाथि अनुसन्धान गर्दै मुद्दा चलाएको थियो ।