सुदूरपश्चिममा कोरोनाका कारण एकै दिन दुई जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको हो ।
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–८ का ३२ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार भेन्टिलेटरमा उपचाररत कडा खालको निमोनिया देखिएपछि अस्पताल भर्ना भएका ती पुरुष सुगरका बिरामी थिए ।
उनी मंसिर १६ गते अस्पतालमा भर्ना भएका थिए । त्यस्तै प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालकै भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५८ वर्षीय संक्रमितको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार असोज १५ गतेदेखि उपचार गराइरहेका पुरुष निमोनियाका बिरामी हुन् । उनको शनिबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।