सुदूरपश्चिम प्रदेशमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि
2020/12/06, 10:16
 
corona

आइतबार सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा साढे ४ सय जनाको परीक्षण गर्दा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल बझाङ र कमलबजार नगरपालिकाको  प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनाको परीक्षण गर्दा थप ९२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ३९ जनाको परीक्षण गर्दा ४८ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा ८४ जनाको परीक्षण गर्दा २६ जना र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ५६ जनाको परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको उनले बताए।   यस्तै जिल्ला अस्पताल बैतडीमा ३९ जनाको परीक्षण गर्दा ६ र डोटी अस्पताल प्रयोगशालामा १५ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए। डडेल्धुरा अस्पताल प्रयोगशालामा  परीक्षण गरिएका २२ जनाको परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको उनले बताए।  

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको घोडाघोडी नगरपालिकाका १० जना, कैलारी गाउँपालिकाका ७ जना, यस्तै मोहन्याल गाउँपालिका, टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका २/२ जनामा संक्रमण देखिएको जानकारी दिए।  यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २० जना, कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका २/२ जनामा समेत कोराना पुष्टि भएको छ।

त्यसैगरी बैतडीको दोगडाकेदार गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।  यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार १ सय ३ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ६ सय ३३ जनाले कोरोना जितेका छन् ।