वन पैदावारमा हानी नोक्सानी हुन नदिनका लागि कञ्चनपुरको झिलमिला सामुदायिक वनले उपभोक्ताको मागअनुरूप दाउरा घरघरमै पुर्याउने काम गर्दै आएको छ । शुक्लाफाँटा नगरपालिका–१ गणेशपुर र कृष्णपुर नगरपालिका–२ बङ्कसम्म फैलिएको सामुदायिक वनले वन संरक्षणका लागि कार्यान्वयनमा ल्याएको नयाँ कार्ययोजनाअनुसार दुवै नगरपालिकाका उपभोक्ताको घरघरमै दाउरा पुर्याउँदै आएको हो ।
उपभोक्ता आफैँले वन क्षेत्रमा छिरेर दाउरा सङ्कलन गर्दा वन पैदावारसँग जीवजन्तुका बासस्थानमा असर पर्ने भएको हुँदा उपभोक्ताले माग गरेअनुरूपको दाउरा घरसम्मै ढुवानी गर्दै आएको सामुदायिक वनका अध्यक्ष अर्जुनबहादुर साउदले बताए । “वन कार्ययोजनाअन्तर्गत वार्षिक रूपमा वन व्यवस्थापनका क्रममा झाडी सफाइ गर्ने, एक्ल्याउने, पत्ल्याउने र ढलापडा रुख सङ्कलन गरेवापत सङ्कलन हुने दाउरा उपभोक्तालाई उपलब्ध गराउँदै आएका छौँ”, उनले भने, “उपभोक्ताको आर्थिक हैसियतले भ्याउने गरी प्रतिडनलव दाउरा एक हजार ६१० रुपैयाँमा उपभोक्ताको घरमै उपलब्ध हुँदै आएको छ ।”
अनावश्यक रूपमा वन प्रवेशमा रोक लगाइएपछि वन संरक्षण र वन्यजन्तुको बासस्थान जोगाउन मद्दत पुगेको उनले बताए । दाउरा वनमै उपभोक्तालाई सङ्कलन गर्न दिँदा विगतमा चोरी सिकारी र काठ दाउरा तस्करी बढ्दो क्रममा रहेको थियो । त्यो कामसमेत पूर्णरूपमा रोकिएको छ । “पहिलाजस्तो काठ दाउरा ल्याउन परे वनमा जानै पर्दैन”, अध्यक्ष साउदले भने, “लोड–अनलोड, कटान र ढुवानी सबै वनले नै गरिदिन्छ ।”
उपभोक्ताको घरमै पुगेर दाउरा भएरनभएको जानकारी लिनसमेत भ्याउने भएकाले सोहीअनुरूप वनमा दाउराको व्यवस्था समेत मिलाउने गरिएको छ । वनले दाहसंस्कारका लागि उपभोक्तालाई निःशुल्क दाउरा उपलब्त्त गराउँदै आएको छ । दुई नगरपालिकामा फैलिएको वनमा चार वटा टोल छन् ।
साढे तीन सयभन्दा बढी उपभोक्ता रहेको वनले उपभोक्ताको मागअनुसार बेलाबेलामा भुइँघाँस रुखघाँससमेत उपलब्ध गराइरहेको छ । यसका लागि प्रतिभारी १० तोकेको छ । दुई सय हेक्टर क्षेत्रफलमा फैलिएको वनले गणेशपुर, ओखरफाँटा, नन्दीपुर र सन्धिफाँटाका उपभोक्तालाई संरक्षण र उपयोगमा सँगसँगै जोडेको छ ।