ग्रामीण सडकमा जिप गुडाउने चालकहरूमध्ये कैलाश बम सबैभन्दा होसियार र सिपालु चालकका रूपमा परिचित थिए । दिपायल–बोगटान कच्ची रुटमा उनको जिप चढ्न यात्रुहरू जहिल्यै हानथाप गर्थे । सहज र समझदार चालक भएकैले कैलाशकै गाडीमा धेरै यात्रु सुरक्षित महसुस गर्थे । तर, तिनै विश्वासिला मानिएका कैलाशले चलाएकै जिप शनिबार राति १ बजे दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।
बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप सडकबाट करिब दुई मिटर तल खसेको हो । दुर्घटनामा सोही वडाका वडासचिव ९नायब सुब्बा० रहेकी बैतडीको सूर्नया गाउँपालिका–६ की २८ वर्षीया मञ्जु त्रिपाठी, उनकी सासू डम्बरी अवस्थी, दुई वर्षीय छोरा मुकुन्द र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ चन्केसैनका कृषि प्राविधिक हरिनारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी इन्द्रबहादुर मल्लले बताए ।
बालक मुकुन्दको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । अन्य तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा चालक कैलाशसहित ग्लोबल आईएमई बैंकमा कार्यरत सुरक्षा गार्ड टीकाराम गिरी, उनकी श्रीमती खेमा गिरी र खत्याडी माध्यमिक विद्यालयका शिक्षक हेमन्त भट्ट घाइते भएका छन् । उनीहरूको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । कच्ची सडकमा रातिको समय गाडी नियन्त्रण गर्न नसकिएर दुर्घटना भएको हुन सक्ने डीएसपी मल्लले बताए ।
कैलाश धनगढीबाट २ सय १५ किलोमिटर दूरीमा म१च ५५० नम्बरको बोलेरो जिप चलाएर शनिबार बिहानै दिपायल आइपुगेका थिए । दिपायल आइपुग्नेबित्तिकै बोगटान जान यात्रुहरू पर्खेर बसेका थिए । मिजासिलो स्वभावका कैलाशले यात्रुहरूको प्रस्तावलाई सहजै स्विकारेर गन्तव्य पुर्याए । बोगटानको करिब ७० किलोमिटर कच्ची सडकमा गाडी गुडाएर उनी करिब ५ बजे दिपायल फर्के । बोगटान जान अर्को जिपमा चढेका यात्रुहरू कैलाशलाई देखेपछि उत्रे । उनीहरूले कैलाशकै जिपमा जाने अडान लिए । कैलाशले यस पटक भने जान नसक्ने प्रतिक्रिया दिए ।
उनले दिनभर गाडी चलाउँदा शरीर थाकेको र निद्रा लागिरहेको बताए । तर यात्रुहरूको अगाडि उनको केही लागेन । ‘यात्रा सुरक्षित हुन्छ भनेर सबै करकाप गर्न लागेपछि मेरो केही सीप चलेन,’ कैलाशले भने, ‘सधैं मेरै गाडीमा चढ्ने यात्रु भएकाले बिस्तारै जाम्ला भन्ने सोचेर लगें । राम्रो सोच्दा सोच्दै अप्रिय घटना भयो । बाटोमा खाना खाएर हिँडेको केही बेरमै अनिँदो र थकित शरीर सुस्तायो । त्यसपछिको घटना मलाई यादै छैन ।’ उनले दाइ नाता पर्ने प्रकाशलाई शनिबार साँझ यात्रुहरूको करकाप भइरहेकाले गाउँतिर जान लागेको खबर गरेका थिए । ‘थाकेको भए नजाऊ, बिहान जानू भनेर सम्झाएको थिएँ,’ प्रकाशले भने, ‘अर्को जिप छोडेर उसको जिपमा यात्रुहरू जबर्जस्ती बसेर दबाब दिएपछि नाइँ भन्न सकेनछ । राति अप्रिय घटना सुनियो ।’
पछिल्लो समय डोटीका ग्रामीण सडकमा सवारी दुर्घटना बढेको छ । गत वर्षको जेठमा बोगटान ग्रामीण सडक खण्डमा पर्ने पलाडीमा से१ज ८७७ नम्बरको बोलेरो जिप पल्टँदा तीन जनाको मृत्यु भएको थियो । नौ जना घाइते भएका थिए । गत वर्ष जेठमै साँघुरो सडकमा गुिडरहेको जिप खस्दा शिखर नगरपालिका–३ जोरागाउँका तीन जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आर्थिक वर्ष २०७५र७६ र २०७६र७७ मा सडक दुर्घटनाबाट ४७ जनाको मृत्यु भएको छ । जसमा अधिकांश दुर्घटना ग्रामीण सडकमै भएका छन् । आर्थिक वर्ष २०७३र७४ मा १० को मृत्यु, ७ घाइते र २०७४र७५ मा २८ को मृत्यु तथा ६७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।