कैलालीका थप एक संक्रमितको मृत्यु, सेनाद्वारा शव व्यवस्थापन
2020/12/07, 5:52
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको मृत्यु हुनेक्रम बढेको छ । पछिल्लो समय हरेक दिनजसो सङ्क्रमितको मृत्यु भइरहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।   सोमबार विहान पनि अस्पतालमा उपचाररत एक जना संक्रमितको ज्यान गएको छ । गोदावरी नगरपालिका–२ राधाकृष्ण टोलका ७५ वर्षीय महादेव विकको ज्यान गएको हो । मृतकलाई मधुमेहकोसमेत समस्या रहेको थियो । 

विकलाई मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना अस्थायी अस्पतालमा राखेर उपचार गर्ने क्रममा उनको ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए  । मृतकको शवलाई भवानी दल गण तेघरीबाट खटेको सेनाको तालिम प्राप्त टोलीले व्यवस्थापन गरेको छ ।

सह सेनानी नवलसिंह रोकायाको नेतृत्वमा खटेको सेनाको टोली गोदावरीमा रहेको आर्यघाटमा हिन्दू संस्कार अनुसार जलाएर शव व्यवस्थापन गरेको हो । दुई दिन अगाडिमात्रै गोदावरी नगरपालिकाकै एक युवकको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।