सरकारले नदी तथा खोलानाला उत्खनन गर्दा उपकरणको प्रयोग गर्न नपाइने प्रावधान बनाएपनि कञ्चनपुरमा लागु हुन सकेको छैन् । चुरे वन क्षेत्र आसपासका नदीनालामा अवैध उत्खनन् भइरहँदा पनि प्रशासन मौन बसेको छ । बेदकोट नगरपालिकाको बगुन खोलामा स्काभेटर प्रयोग गरी अवैध रुपमा उत्खनन् भइरहँदा प्रशासनले रोक्न सकेको छैन ।
नदीनालामा झण्डै एक दर्जन बढी स्काभेटर प्रयोग गरि गिट्टी बालुवा उत्खनन् भई रहेको छ । नगरपालिकाले प्रारम्भिक वातावरण परिक्षण गरि पालिकाभित्रका पाँच वटा नदी, खोला, चुरेलगायतका ठाउँमा मात्र गिट्टी बालुवा उत्खनन्का लागि ठेक्का गरेको छ । तर ठेकेदार कम्पनीले प्रावधान विपरीत चुरे क्षेत्र तथा वन क्षेत्र नजिक पर्ने खोलामा समेत स्काभेटरको प्रयोग गरि उत्खनन गरिरहेको छ ।
उता बेदकोट नगरपालिकाले भने मापदण्ड अनुसार नै उत्खनन् भइरहेको दावी गरेको छ । नगरपालिकाका अनुसार गिट्टी बालुवा उत्खननका लागि अमृत कन्सट्रक्सनसँग ८५ लाख रुपैयामा ठेक्का भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले भने चुरे तथा वन क्षेत्रमा भएका खोलानालाबाट उत्खनन् गर्न नपाइने भन्दै रोक्न माग गरेको छ ।