कञ्चनपुरमा २ दर्जन बढी पुल वषौँदेखि अलपत्र 
2020/12/08, 2:48
 
pool

कञ्चपुरको लालझाडी गाउँपालिकाको डोडा नदी माथी पुल बन्न लागेको ५ वर्ष भयो। देखतभुली–पर्सिया सडकमा बन्न लागेको सो पुलको भौतिक प्रगति ५५ प्रतिशत मात्रै भएको आयोजना कार्यालयले जनाएको छ। २०७५ पुष २५ गते निर्माण सम्पन्न गर्नेगरी २०७२ को पुषमा निर्माण सम्झौता भएको थियो। ४० मिटर लम्बाइ रहेको सो पुल निर्माणका लागि २४ करोड ५२ लाख ६१ हजार रुपैयाँमा सम्झौता भएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए।

पुलको ठेक्का पाएको लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभीले आउँदो माघ १५ गतेसम्म निर्माण सम्पन्न गर्नेमा आशंका व्यक्त गरिएको छ। कञ्चनपुरकै कृष्णपुर नगरपालिकाको वडाल खोलाको पुलको अवस्था पनि उस्तै छ। बुडर नायल बंक सडक खण्डमा पर्ने ३५ मिटरको सो पुल निर्माणका लागि २०७३ असारमा सम्झौता भएको थियो। २०७४ को फागुनमा निर्माण सक्नेगरी ५ करोड ४७ लाख ४ हजार रुपैयाँमा सम्झौता भएको पुलको प्रगति ६५ प्रतिशत मात्रै पुगेको छ।

सोही सडकको खार खोलमा ३० मिटर लम्बाईको पुल निर्माण सुरु भएपनि ४ वर्ष भयो। ६ करोड ६९ लाख ६७ हजार रुपैयाँ बजेट रहेको उक्त पुललाई समेत आउदो पुष मसान्तसम्म निर्माण गरिसक्नु पर्ने गरी समयावधी थपिएको छ। पुल निर्माणको जिम्मा पाएको थेगिम गल्वा जेभीका सञ्चालक गंगाराज शुब्बाले कोरोना भाइरसको प्रभावले काम प्रभावित भएको बताए। ‘पुल निर्माणका लागि भारतबाट कामदार ल्याउनुपर्ने बाध्यता छ’, उनले भने, ‘अहिले काम सुरु गरेका छौं।’ यी ३ वटा पुल प्रतिनिधि उदाहरण मात्रै हुन्। जिल्लामा निर्माण भइरहेका २५ भन्दा बढी पुलको अवस्था उस्तै छ।

प्राविधकि कारणले केही पुलाको काम मात्रै रोकिएको भएपनि अधिकांश पुलाहरुमा निर्माण कम्पनीकै लापरवाही देखिएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी जोशी बताउँछन्। अहिले आएर कोरोना भाइरसको प्रभावले कामदार नपाउदा पुल निर्माणको काम प्रभावित भएको दाबी गरिएको छ। तर कोभिड–१९ को प्रभाव भने गत चैत पछि मात्रै देखिएको हो। जिल्लामा निर्माणधिन पुलहरु भने त्यस अगाडीबाट नै अलपत्र पारिएका छन्। दुर्गम गाउँहरु जोड्ने पुल अलपत्र पर्ने क्रम जारी रहदा पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन्। त्यसको सिधा मारमा कञ्चनपुरका ग्रामीण बस्तीका मानिसहरु परेका छन्।