कैलारीमा कोरोना परीक्षणको दायरा बढाइयो
2020/12/09, 8:08
 
corona

कैलालीको कैलारी गाउँपालिकामा फेरि संक्रिय संक्रमित बढेका छन् । एकताका सक्रिय संक्रमित शून्यमा झरेको सो गाउँपालिकामा पछिल्लो समय पुनः संक्रमण बढेसंगै सक्रिय संक्रमितको संख्या पनि बढेको हो । 

गाउँपालिकामा हाल ३५ जना संक्रिय संक्रमित रहेका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले जानकारी दिए । संक्रिय संक्रमितमा दुई जना स्वास्थ्यकर्मी पनि रहेका छन् । वडा नम्बर ६ गदरिया र वडा नम्बर ५ स्थित पवेरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । संक्रमित दुवै जना सिनियर अहेब हुन । 

दुवै जना स्वास्थ्यकर्मीले बिरामीको चेकजाँच गर्दै आएका छन् । यसैगरी, दुवै जनाको आफ्नो प्राइभेट क्लिनीक पनि रहेको छ । कार्यालय बिदापछि उनीहरु क्लिनीकमा पनि बिरामी चेकजाँच गर्ने गरेका संयोजक सापकोटाले जानकारी दिए । ‘बिरामी चेकजाँचकै क्रममा उनीहरुलाई कोरोना सरेको हुनु पर्दछ’, उनले भने । कोरोना सङ्क्रमित दुवै स्वास्थ्यकर्मी होम आइसोलेसनमा बसिरहेका छन् । 

तिहारपछि कैलारी गाउँपालिकाको वडा नम्बर ९ स्थित कोइलही गाउँमा कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको थियो । धनगढीबाट गएका सो गाउँका एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । त्यसपछि विभिन्न व्यक्तिमा संक्रमण फैलिएको थियो । कोरोना संक्रमण बढि रहेको धनगढीबाट मान्छेको ओहोरदोहोर भइरहने गरेकाले जोखिम रहेको संयोजक सापकोटाले जानकारी दिए । 

‘हामीले अहिले टेस्ट पनि बढाएका छौं’, उनले भने । ‘रुखाखोकी र ज्वरोको समस्या भएका हरेक व्यक्तिको पीसीआर टेस्ट गरिहाल्ने योजना छ ।’ कैलारी गाउँपालिकाभरिमा हालसम्म ९८ जनामा कोरोना सङ्क्रमण भएको जनाइएको छ । जसमध्ये, आजको मितिसम्म ६३ जना संक्रमित निको भइसकेका छन् ।