सुदूरपश्चिममा १ सय २४ जना संक्रमित थपिए 
2020/12/09, 8:16
 
corona

सुदूरपश्चिम प्रदेशका थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार २८१ जनाको परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप ३६ जनामा संक्रमण देखिएको जानकारी दिए ।

कैलालीकै गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाका २/२ जना, टीकापुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।  यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना, बेदकोट नगरपालिकाका ३ जना,  कृष्णपुर नगरपालिकाका १ जना र अछामको मंगलसैन नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै अछामको कमलबजार प्रयोगशालामा १ सय ३१ जनाको पिसिआर परिक्षण गर्दा  ३९ पुरुष, ७ जना महिला गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कोरोना संक्रमण पुष्टी हुनेमा बान्नीगढी जयगढ गाँउपालिकाका २७ जना, मंगलसेन नगरपालिकाका ९ जना, चौरपाटी गाँउपालिकाका २ जना, कमलबजार नगरपालिकाका १ जनामा कोरोना पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।

मेल्लेख गाँउपालिकाका १ जना पुरुष र साँफेबगर नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सुचना अधिकारी बिष्टले बताए । यस्तै बाजुराको स्वामीकार्तिक गाँउपालिकाका १ जना पुरुष र बुढीगंगा नगरपालिकाका २ जना पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।  उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा २२ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा ५ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाउको छ ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ९९ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ६ सय ७६ डिस्चार्ज भएका छन ।