विवाद मिलेपछि बुडर–जोरायल सडकको काम सुरु
2020/12/10, 9:15
 
sadak

सडक निर्माण गर्ने विषयमा गएको १८ वर्षदेखि विवादित बनेको डोटीको बुडर–जोरायल सडक निर्माण कार्यको काम अब भने सुरु भएको छ । सडक निर्माण कम्पनी तथा जग्गा धनीबीच उत्पन्न भएको विवाद गाउँपालिकाले सहमतिमा ल्याएपछि सडक फराकिलो पार्ने काम सुरु गरिएको हो ।

सडक चौडा पर्ने सहमति भएसँगै अहिले जोरायल गाउँपालिका २ बाँजिलेकदेखि खैरिखोला हुँदै जिजिकोट भएर तल्लो हाट जोड्ने सडकमा डबल कटिङको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, ‘निर्माण कम्पनी र जग्गा धनीको विवादले १८ वर्षदेखि काम बन्द भएको सडकमा सहमति गराएर अहिले सडक फराकिलो गर्न थालेका छौँ, सबैलाई चाहिने तथा अत्यावश्यक काममा सबैले सहयोग गर्न जरुरी छ ।’

यस सडक खण्डको बाटोमा विवाद भएपछि बाँजिलेकबाट गुँयली हुँदै रावल गाउँ भएर तल्लो हाटसम्म सडक निर्माण गरी यातायात सञ्चालन भइरहेको थियो । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरवको आयोजनाकै रुपमा रहेको बुडर–जोरायल सडक खण्डको रिठादेखि चन्कट्टेसम्मको १७ दशमलव ३० किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएसँगै त्यस सडकमा रहँदै आएको विवादमा सहमति जुटेको स्थानीयबासी चित्रराज भट्टले जानकारी दिए । विसं.२०५८÷०५९ सालतिर सर्वे भएको ठाउँबाटै सडक निर्माण गर्ने सहमति भएर काम सुरु भएको जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुनाकुमारी बोहराले बताईन् । 

राजेन्द्र निर्माण सेवा डडेल्धुराको ठेक्का रहेको यस सडक कालोपत्रे गर्न ७२ करोड ५६ करोड ३१ लाख १५ हजार ६ सय रुपैयाँ बराबरको अनुमानित बजेट रहेको पूर्वाधार विकास कार्यालय डडेलधुराका प्रमुख रामचन्द्र खत्रीले बताए । अहिलेलाई सडक कालोपत्रे गर्न ३२ करोड ७१ लाख ४७ हजारमा २०७७ असार ३० गतेभित्र काम सक्ने सम्झौता भएको उनले जानकारी दिए ।