सेती प्रादेशिक अस्पतालमा बुधबारराति धनगढीका ६५ वर्षीय पुरुषको मृत्युभयो । उनको शव व्यवस्थापन गरिएको भोलिपल्ट शुक्रबारराति अर्का ७३ वर्षीय पुरुषको पनि उपचारकै क्रममा अस्पतालमा ज्यान गयो । पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेशमा कोरोना सङक्रमितको ज्यान जानेक्रम बढेको छ । समुदायस्तरमा सङ्क्रमण बढेपछि दिनैपिच्छे सङ्क्रमितको ज्यान जान थालेको हो । पछिल्लो केही दिनयता, २४ घण्टाको फरकमा कम्तीमा पनि एक जना सङ्क्रमितको मृत्यु भइरहेको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले केही दिनयता कोरोना सङ्क्रमितले ज्यान गुमाउने क्रम बढेको बताए । ‘अहिले दिनहुँजसो सङ्क्रमितको मृत्यु भइरहेको छ’, उनले भने । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा अहिलेसम्म २५ जना सङ्क्रमितको ज्यान गएको छ । ‘यो अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका सबै सङ्क्रमित दीर्घ रोगीसमेत थिए’, श्रेष्ठले भने ।
अस्पतालले दिएको जानकारी अनुसार कोरोना सङ्क्रमणपछि मृत्यु हुने व्यक्तिहरुमा मधुमेह, निमोनिया, किड्नीको समस्या जस्ता स्वास्थ्य समस्या रहेको थियो । कोरोनाले यस्ता समस्यालाई झन जटिल बनाइ दिने गरेका कारण दीर्घ रोगीहरुको ज्यान जाने गरेको श्रेष्ठको भनाइ छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशभरि हालसम्म कोरोना सङ्क्रमणका कारण ४४ जना व्यक्तिको ज्यान गएको छ । केही व्यक्तिले घरमै बसेका बेला ज्यान गुमाए पनि धेरै जनाको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
प्रदेशको अन्य जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी २३ जनाको ज्यान गइसकेको छ । यसैगरी, कञ्चनपुरमा सात, बझाङ, डडेल्धुरामा तीन÷तीन, अछाम, बाजुरा, दार्चुलामा दुई÷दुई र डोटी, बैतडीमा एक÷एक जनाको ज्यान गएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेक्रम बढे पनि मान्छेले पहिलेको जस्तो सुरक्षा सतर्कता अपनाएको देखिदैन । कोरोनाको डर अहिले मान्छेमा छैन । बजार क्षेत्रमासमेत मास्क नलगाउने परिपाटी बढेको छ । सङ्क्रमण बढेको बेला लापरवाही पनि बढेपछि स्वास्थ्यकर्मी चिन्तित् भएका छन् ।
मान्छेले गरिरहेका लापरवाहीले ठूलो समस्या उत्पन्न हुने सक्ने प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए । उनले कोरोना सङ्क्रमणपछि बढी मात्रामा दीर्घ रोगी वृद्धवृद्धाले ज्यान गुमाइरहेका उल्लेख गरे । दीर्घ रोगीहरुको राम्रोसंग स्याहार र हेरचाह गर्न सकिएमा कोरोनाका कारण भइरहेको मृत्युदर घटाउन सकिने अवस्थीको बुझाइ छ । ‘दीर्घ रोगीहरुलाई कोरोना लागेमा थप अरु स्वास्थ्य समस्या हुने गर्दछ’, उनले भने । ‘यदि, उनीहरुको राम्रोसंग स्याहार गर्न सकियो भने कोरोनाका कारण हुने मृत्युदर कम गर्न सकिन्छ ।’
यसैबीच, सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । अस्पतालका अनुसार भीमदत्त नगरपालिका–१ का ७३ वर्षीय ऐनबहादुर सिंहको मृत्यु भएको हो । सेतीको कोरोना अस्थायी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । वृद्धलाई कडा निमोनिया रहेको थियो । मङ्सिर २४ गतेबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो ।
मृतकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । सेनाले हिन्दू संस्कार अनुसार गोदावरीको आर्यघाटमा शव व्यवस्थापन गरेको हो । बोजविक्रम थापाको नेतृत्वमा खटेको सेनाको तालिम प्राप्त टोलीले मृतकको शव व्यस्थापन गरेको भवानी दल गण तेघरीले जानकारी दिएको छ ।