सुदूरपश्चिममा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली र डोटीका एक महिला र एक पुरुष संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । कैलालीकी एक बृद्धाको सेतीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालको भेन्टिलेटरमा उपचाररत ७५ बर्षीया महिलाको मृत्यु भएको हो ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ की ती महिलाको आज विहान पौने ९ बजे उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती महिलाको मंसीर २१ गतेदेखि उपचार भईरहेको थियो । उनलाई कडा किसिमको स्वास प्रश्वास र निमोनियाबाट ग्रसित थिईन् ।
यस्तै डोटीका एक जना पुरुषको नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का ४९ बर्षीय पुरुषको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको बाकेंका कोभिड १९ फोकल पर्सन तेजवहादुर ओलीले खबरकुञ्जलाई जानकारी दिए ।
उनका अनुसार ती पुरुषको मंसीर २६ गते कोरोना परीक्षण भएकोमा २७ गते पोजेटिभ आएको थियो । अवस्था गम्भीर भएपछि मेडिकल कलेजको आईसियुमा उपचाररत ती पुरुषको मृत्यु भएको हो ।
योसँगै सुदूरपश्चिममा कोरोनाबाट ६४ जनाको मृत्यु भएको छ । पछिल्लो समय जाँडो बढेसँगै दैनिक रुपमा कोरोना संक्रमितहरुको मृत्यु भईरहेको छ । जाडोको समयमा सर्तकता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।