कैलारीमा कोरोना अस्पताल सञ्चालनको तयारी
2020/12/17, 7:49
 
corona

कैलालीको कैलारी गाउँपालिकाले कोरोना अस्पताल सञ्चालनको लागि तयारी पूरा गरेको छ ।  गाउँपालिकाले वडा नम्बर ५ स्थित बैजपुरमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । अस्पताल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए । 

गाउँपालिकाले पठनपाठन कार्य बन्द भएको एक विद्यालय भवनमा कोरोना अस्पताल सञ्चालन गर्न लागेको हो । अस्पतालमा छ वटा बेड रहने जनाइएको छ । बेड तयार भइसकेको र एक÷दुई वटा सामानमात्रै मिलाउन बाँकी रहेको सापकोटाले बताए । उनले हप्तादिनभित्रै अस्पताल सञ्चालनमा आउने जनाए ।  नेपाल सरकारले अल्पकालीन समयका लागि अस्पताल सञ्चालन गर्न एक स्थानीय तहमा १० लाख रुपैयाँसम्म बजेट पठाएको थियो ।

अस्पताल सञ्चालनका लागि एक डाक्टरसहित दुई नर्स र एक कार्यालय सहयोगी गरी चार जना कर्मचारी राख्न सकिने व्यवस्था गरिएको छ । तर, कैलारीले डाक्टर पाउन सकेन । दुई नर्स र गाउँपालिकामा उपलब्ध अरु स्वास्थ्यकर्मीमार्फत अस्पताल सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताए ।  कैलारी गाउँपालिकामा हाल ४८ जना सक्रिय संक्रमित रहेका छन् । अस्पताल सञ्चालन नभएकाले प्रायः संक्रमित होम आइसोलेसनमा बसेका छन् । यो गाउँपालिकामा हालसम्म १२० जनामा कोरोना सङ्क्रमण भइसकेको छ । जसमध्ये ७२ जना निको भइसकेका छन् ।