सुदूरपश्चिम प्रदेशका थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ८३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४ सय ८ नमूना परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप १२ जनामा संक्रमण देखिएको जानकारी दिए ।
यस्तै कैलालीकै भजनी नगरपालिकाका ५ जना, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका र जानकी गाउँपालिकाका २÷२ जना, टीकापुर नगरपालिकाका १ जना र केलालीकै ठेगाना नखुलेका ७ जनामा संक्रमण पुष्टि भएको छ । उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका २ जना, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाका १÷१ जना, कञ्चनपुरकै ठेगाना नखुलेका ३ जनामा पनि संक्रमण देखिएको छ ।
यसैगरी बाजुराको बडीमालिका नगरपालिकाका १४ जना र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उता अछामको कमलबजार प्रयोगशालामा गरीएको परीक्षणमा अछाममा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अछाम जील्लाको कमलबजार प्रयोगशालामा भएको स्वाब परीक्षणमा बान्नीगढी जयगढ गाउँपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिए ।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा अमरगढी नगरपालिकाका ३ जना र डडेल्धुरा अस्पतालमा कार्यरत १ जना गरी ४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । यस्तै बझाङ अस्पतालको प्रयोगशालामा १५ र बैतडी अस्पतालको प्रयोगशालामा १ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ६ सय ८७ पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार १ सय १२ जना डिस्चार्ज भएका छन ।