पुरा हुँदै पक्की घरमा बस्ने विपन्न वर्गको सपना
2020/12/18, 11:36
 
dhara

कञ्चनपुर बेदकोटन नगरपालिका ५ धरमपुरकी मिना चौधरीलाई दुई छान टार्न पनि सकस छ । तर, उनको मुहारमा अहिले मुस्कान भरिँदै छ । मिनाका श्रीमान् कञ्चनपुरकै महेन्द्रनगरमा मजदुरी गर्छन् । मजदुरी गरेर आएको रकमबाट घर खर्च र सन्तान पढाउन पनि समस्या छ । पुरानो र जीर्ण घरमा २ पुस्ता बिताएका मिनालाई पक्की घरमा बस्ने ठुलो रहर थियो । उनको रहर बर्षाै पछि पुरा हुँदै छ ।


सुदूरपश्चिम प्रदेश सरकारले विपन्न परिवारहरूलाई लक्षित गरेर घर निर्माण सुरु गरेको छ । यो क्रममा मिनाको पनि पक्की घर बन्दै छ । मुख्यमन्त्री नमुना आवास कार्यक्रम अन्तर्गत बेदकोट नगरपालिका ५ धरमपुरमा मुख्यमन्त्री एकीकृत बस्ती निर्माण भइरहेको छ । यहाँ २५ पक्की घर निर्माण भइरहेका हो । १ करोड १ लाख लागतमा असार मसान्त भित्रै घर निर्माण गर्ने जिम्मा नागार्जुन कन्स्ट्रक्सन प्रालिले पाएको छ ।

अहिले धमाधम घर बन्दा मिना दङ्ग छिन् । ‘हामीले पक्की घरमा बस्ने सपना मात्रै देखेका थियौ’उनी भन्छिन्, ‘सपना पनि पुरा हुँदो रहेछ भन्ने लागिरहेको छ ।’ पक्की घर भएपछि निकै सहज हुने उनी बताउँछिन् ।  ‘पहिले राम्रो घर नहुँदा धेरै समस्या थियो । हावाहुरीले उडाउँला जस्तो गथ्यो । सर्प धेरै आउने’ उनले भनिन् ‘अब त त्यस्ता दिन गए जस्तो लाग्न थालेको छ ।’  मजदुरी गरि कमाएको रकमले कहिल्यै पक्की घर बन्न नसक्ने उनी बताउँछिन् । उनले अब शिक्षा, स्वास्थ्य र रोजगारीमा पनि सरकारले ध्यान दिनु पर्ने बताइन् ।  ‘घर मात्रै भएर हुँदैन अब छोराछोरीको लागि शिक्षा स्वास्थ्य र हाम्रो लागि रोजगारीको लागि पनि सरकारले व्यवस्था गरिदिनु पर्छ ।’ उनले भनिन् ।

स्थानीय बाालामति डगौरा पनि अहिले दङ्ग छिन् । पुरानो र कमजोर घरमा बसिरहेकी डगौरा नयाँ घरमा बस्न पाउने दिन कुरेर बसेको बताउँछिन् । ‘अब केही महिना भित्रै घर तयार हुन्छ भनेका छन’ उनले भने ‘नयाँ घरमा बस्ने रहन पुरा हुने भयो ।’  उनले पनि विगतमा गतिलो घर नहुँदा निकै समस्या झेल्नु प¥यो ।  ‘घर नबन्दा धेरै समस्या थियो । हावाहुरी र र पानी पर्दा ज्यान जोगाउनै समस्या हुन्थ्यो’ उनले भनिन् ‘अब हाम्रा पनि राम्रा दिन आउन लागे जस्तो लागेको छ । ’  स्थानीय लक्ष्मी दमाईंको हर्ष पनि मिना र बाालामति भन्दा कम छैन । उनको समस्या पनि ती दुईको जस्तै छ । उसो त यहाँ रहेका सबै स्थानीयको समस्या उस्तै उस्तै छ ।

‘धेरै खुसी छौँ ’उनले भनिन् ‘ धेरै समस्या थियो । अब हट्दै जानेछ ।’ लामो समयदेखि बस्दै आएका धरमपुरका विपन्न, घरबार विहीन नागरिकले पक्की घरमा पाउने भएपछि हर्षित भएका हुन् । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गरिबको लागि भन्दै २ कोठा सम्म र १ सौचायल सहितको घर तयार गर्न लागेको हो । नमुना आवास बस्तीमा अहिले अन्य निकायहरूले पनि गरिबका घर बनाइरहेका छन् । ५ भवन तराई मधेस समृद्धि कार्यक्रम र बेदकोट नागरपालिकाले बनाउँदै छ ।

यस अघि ८ भवन सङ्घीय सांसद नरबहादुर धामीको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको छ । त्यहाँ ८ शौचालय बेदकोट नगरपालिकाकाले बनाउँदै छ । मुख्यमन्त्री एकीकृत बस्तीले २५ घर निर्माण गरिरहेको छ भने एक गैर सरकारी संस्थाले पनि ५ घर निर्माण गरिदिने भएको छ ।  ‘विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट यहाँ ४३ पक्की घर बन्दै छ’ बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले भने ‘यहाँ ८१ भवन बनाउने हाम्रो योजना छ । ’

समयमै सम्पन्न गर्न निर्देशन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विपन्न, घरबार विहीन नागरिकका लागि प्रदेश सरकारले तयार गर्न लागेको घरहरू समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।  भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री भट्टले तोकिएको समयमै भवन सम्पन्न गरेर स्थानीयलाई हस्तान्तरण गर्न आग्रह गरे । मुख्यमन्त्री भट्टले प्रदेशका सबै जिल्लाहरूमा मापदण्ड अनुसार गरिबको लागि सरकारले भवन निर्माण गरिदिने बताए ।

प्रदेशका ९ वटै जिल्लामा यस्ता बस्ती निर्माण गरिने छ’ उनले भने ‘घर विहीन भएका सीमान्तकृत वर्ग र कमजोर आर्थिक अवस्था भएका नागरिकलाई हामीले पक्की घर बनाउने छौँ ।’  मुख्यमन्त्री भट्टले नयाँ ढङ्गले बस्ती विकास गरिने बताए ।  ‘अव्यवस्थित बस्तीकै कारण पछिल्लो समय पहाडी जिल्लामहरुमा पहिरो बढ्न थालेको छ’ उनले हामी‘ हामी व्यवस्थित आवास निर्माणमा छौँ ।  भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले कञ्चनपुरसँगै डोटीमा पनि एकीकृत बस्ती विकास कार्यक्रम अघि बढिरहेको बताइन् । उनले भनिन्, ‘अहिले कञ्चनपुर र डोटीमा चहिलरहेको छ । अब कैलालीको भजनीमा रहेका राजी समुदायका घरहरू पनि बनाउने योजनामा छौँ ।’