सुदूरपश्चिम प्रदेशका थप ४९ जनामा कोरोना संक्रमण पुष्टि
2020/12/19, 8:12
 
corona

 शनिबार सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा झण्डै ४ सयको परीक्षण गर्दा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बझाङ अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ७९ जनाको परीक्षण गर्दा थप ४९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ७३ जनाको नमूना परीक्षण गर्दा ४० जना, डडेल्धुरा अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा २ जना, जिल्ला अस्पताल डोटीमा १९ नमूना परीक्षण गर्दा १ जना, जिल्ला अस्पताल बझाङमा १५ नमूना परीक्षण गर्दा २  र कमलबजार नगरपालिकाको प्रयोगशालामा ६० जनाको नमूना गर्दा ४ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए।  

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आज कैलालीका ३३ सहित ४० जनामा संक्रमण पुष्टि बताए। उनका अनुसार धनगढी उप–महानगरपालिकाका थप ८ जनामा संक्रमण देखिएको छ।  यस्तै कैलालीकै गौरीगंगा नगरपालिकाका १९ जना, गोदावरी नगरपालिकाका ४ जना, यस्तै घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकाका १/१ जनामा भाइरसको संक्रमण देखिएको छ। 

उता कञ्चनपुरको बेदकोट नगरपालिकाका ५ जना, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।  यस्तै अछामको कमलबजार प्रयोगशालामा भएको परीक्षणमा जिल्लाको साँफेबगर नगरपालिका, मंगलसेन नगरपालिका, कैलालीको लम्किचुहा नगरपालिका र बैतडीको पुर्चाैडी नगरपालिकाका १/१ जना गरी ४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए।  

यस्तै डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा अमरगढी नगरपालिकाका–५ का २ महिलामा कोरोना पुष्टि भएको कोभिड सम्पर्क व्यक्ति हरीप्रसाद भट्टले जानकारी दिए।   त्यसैगरी बझाङमा भएको परीक्षणमा जयपृथ्वी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ५५ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १० हजार २ सय ४२ जनाले कोरोना जितेका छन् भने ६८ जनाको मृत्यु भएको छ।