सुदूरपश्चिम प्रदेशका थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय ६७ नमूना परीक्षण गर्दा कञ्चनपुरका ४२ र कैलालीका ३१ सहित थप ७४ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप १५ जनामा संक्रमण देखिएको जानकारी दिए ।
यस्तै कैलालीकै लम्किचुहा नगरपालिका र कैलारी गाउँपालिकाका ५÷५ जना, गोदावरी नगरपालिकाका ३ जना, टीकापुर नगरपालिका, गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकाका १÷१ जनामा समेत भाइरसको संक्रमण देखिएको छ । उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका २७ जना, बेदकोट नगरपालिकाका १४ जना, पुनर्वास नगरपालिकाका १ जना र बाजुराको बुढीनन्दा नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यस्तै उता वझाङमा गरिएको परिक्षणमा थप ४ जनामा संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १ सय १ जनाको परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टी भएको अस्पताल श्रोत बताएको छ । यस्तै उता अछामको कमल बजार प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ४१ जनाको परीक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टी हुनेमा १ पुरुष र १ महिला रहेको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिए ।
यस्तै डडेल्धुरा अस्पतालमा ६० नमूना परीक्षण गर्दा ८ जना, जिल्ला अस्पताल बैतडीमा ३८ नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार २१ पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार ५ सय २२ जना डिस्चार्ज भएका छन ।