कैलालीमा काठ बिक्रि गर्न पाउनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरिएको छ। सालको काठ बिक्रि गर्न पाउनुपर्ने माग गर्दै वैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जालले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनका कार्यक्रम घोषण गरेको हो। आन्दोलनको कार्यक्रम अन्र्तगत मंगलबार मुख्यमन्त्री कार्यालय मार्फत प्रधानमन्त्री सहित विभिन्न निकायमा ध्यानाकर्षण पत्र बुझाइएको सञ्जालनका संयोजक पुष्कलबहादुर बमले बताए ।
उनका अनुसार बुधबारदेखि १० गतेसम्म राजनीतिक दल, प्रदेश, स्थानीय सरकार लगायतसंग जनजागरण अभियान सञ्चालन गर्ने, छलफल तथा अन्र्तक्रिया गर्ने कार्यक्रम रहेको छ । यस्तै, ११ गते डिभिजन वन कार्यालय कैलाली, कञ्चनपुर र पहलमानपुरमा धर्ना, १३ गते जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरमा धर्ना, १४ गते सुदूरपश्चिम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र १५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ । सञ्जालका संयोजक पुष्कलबहादुर बमले माग सुनुवाई नभए १६ गतेदेखि राजमार्ग अनिश्चितकालिन चक्का जाम गरिने बताए ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा अनिमियमितता भएको भन्दै संघीय सार्वजनिक लेखा उप–समितिले समितिमा बुझाएको प्रतिवेदन स्वीकृत भएको छ। ६० लाख क्यूफिट सालको काठ ई–बिडिङ मार्फत बिक्रिका लागि सुझाव दिइएको छ भने आर्थिक हिनामिनाको छानबिन अख्तियारलाइ गर्न निर्देशन दिइएको छ। सुदूरपश्चिमका वन निर्देशक हेमराज विष्ट सहितका वन अधिकृतहरुलाई समेत कारबाही गर्न भनिएको छ।