डोटीमा रिचार्ज कार्डमा मनपरी मूल्य
2020/12/25, 3:28
 
a

डोटीका ग्रामीण भेगहरुमा नेपाल टेलिकम र निजी क्षेत्रको कम्पनी एनसेलका प्रिपेड रिचार्ज कार्डमा अधिकतम खुद्रा मूल्यभन्दा बढी रकम लिने गरेको पाइएको छ ।

यहाँका गाउँघरमा व्यापारीले रिचार्ज कार्डमा मनपरी रकम लिने गरेको स्थानीयवासीको गुनासो छ । व्यापारीले रिचार्ज कार्डमा उल्लेखित अधिकतम खुद्रा मूल्यभन्दा रु १० देखि २० सम्म बढी लिने गरेको प्रयोगकर्ताको गुनासो छ । 

यहाँका गाउँमा रु १०० को रिचार्ज कार्डमा रु १२०, रु ५० को कार्डमा रु ६० लिने गरेको स्थानीयवासी बताउँछन् । 

जिल्लाको बोगटान फुड्सिल, जोरायल, पूर्वीचौकी, सायल, आदर्श र बडिकेदार गाउँपालिका लगायतका सडक यातायातको सुविधा पुगेका क्षेत्रमा पनि अधिकतम खुद्रा मूल्यभन्दा बढी रुपैयाँ लिने गरेको बडिकेदार–१ स्यली गाउँका श्यामबहादुर कलेलले बताए । 

रिचार्ज कार्डमा अधिकतम खुद्रा मूल्य प्रष्ट उल्लेख गरेको भए पनि व्यापारीले सो कुराको बेवास्ता गर्दै नियमविपरीत ग्राहकसँग बढी रकम असुल्ने गरेका छन् । 

रिचार्ज कार्ड बिक्री गर्ने ग्राहकलाई रिचार्ज कार्डमा उल्लेख भएको मूल्यमा छुट दिइने भएकाले उनीहरुले गाउँमा बिक्री गर्दा जति रकमको रिचार्ज कार्ड हो त्यति रकम मात्रै लिनुपर्ने दिपायल पिपल्ला बजारका व्यापारी किरण भण्डारीले बताए । 

नेपाल टेलिकम दिपायल राजपरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले गाउँमा टेलिकमका रिचार्ज कार्डमा तोकिएको भन्दा बढी मूल्य लिएको भन्ने सुन्नमा आउने गरेको छ, उजूरी आएको छैन तथा बढी मूल्य लिएर कार्ड बिक्री वितरण गर्नु भनेको गैरकानूनी हो भन्छन् । रासस