
कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिईएको हो । चौधरीले शुक्रवार दिउसोसम्म पनि पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूहलाई साथ दिएका थिए । ‘शुक्रवार विहान प्रचण्ड–नेपाल समूहले सडक आन्द्योलन गर्दा गौरीशंकर चौधरी पनि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको आन्दोलनमा सहभागी थिए,’ सोही आन्दोलनमा सहभागी नेकपाका एक जना केन्द्रिय सदस्यले भने, ‘आन्दोलनबाट केही समयका लागि उनी बाहिरिएका थिए । साँझ मन्त्रीको सुँचिमा उनको नाम पनि सुने ।’

यता मन्त्री बनेपछि चौधरीले भने, ‘संसद विघटनपछि म प्रचण्ड–नेपाल समूहमा थिए । त्यो कुरा सत्य हो । तर सो समूहका टाउकेहरु स्वार्थको लडाईमा व्यस्त थिए । हामीले मात्रै सधै उनीहरुको पछिपछि लाग्नुपर्ने कारण छैन् ।’ उनले जिल्लामा आफ्नो मातहतमा रहेका नेताहरुलाई केन्द्रिय सदस्य बनाएको तर आफुलाई पार्टीमा कुनै भूमीका नदिएकोले पनि प्रचण्ड–नेपाल समूह छोडेको बताए ।
यता नेकपा कैलालीका एक नेताले भने मन्त्री चौधरीविरुद्ध करोडौँको मुद्धा परेको र सोही मुद्धा मिलाउने सहमतीमा उनले प्रचण्ड–नेपाल समूहलाई छोडेर ओलीलाई साथ दिएको बताए । ‘बालुवा, गिट्टीको ठेक्का पाउँदा चौधरीसहितको टीमले बैंकबाट ऋण लिएको थियो । ऋण तिर्न नसकेपछि अहिले चौधरीको घरजग्गा लिलाम हुँदैछ । सोही ऋण तिर्नका लागि उनले ओलीलाई साथ दिएर मन्त्री भएका हुन् ।’ ति नेताले भने । यसअघिसम्म चौधरी प्रचण्ड निकट मानिन्थे । प्रचण्ड सरकारमा उनी कृषि मन्त्री पनि भईसकेका छन् ।
