धनगढीको फुलबारीमा हाट बजार संञ्चालनमा 
2020/12/27, 11:20
 
hat bazar

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीको एफ गाउँमा सामुदायिक कृषि तथा पशु हाट बजार सञ्चालनमा आएको छ । एक समारोहका बिच धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले हाट बजारको उद्घाटन गरका छन्  । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख वडले हाटबजार सञ्चालनमा आएपछि स्थानीय उत्पादनले बजार पाउने बताए । उनले हाटबजार विक्री केन्द्र मात्रै नभई संकलन केन्द्रका रुपमा पनि रहने बताए । हाटबजारसंगैे कोल्ड स्टोर पनि संचालनको तयारीमा रहेकोले यसले किसानहरुलाई निकै फाइदा पुग्ने बताए । उनले फूलबारी हाटबजारलाई प्रदेशकै नमुना हाट बजार बनाइने बताए ।

किसानको उत्पादनले बजार नपाएर बारीमै उत्पादन मर्ने अवस्थामा घर आगनमै हाटबजार सञ्चालन भएपछि त्यो चिन्ता टरेको उनको भनाई छ । हाटबजार संचालनमा आएपछि यस क्षेत्रमा कृषिक्षेत्रको बिकासमा टेवा पुग्ने धनगढी उपमहानगरपालिका–१८ का वडा अध्यक्ष मुरारी अधिकारीले बताए । हाटबजार सञ्चालनमा आएपछि किसानहरु उत्साहित भएका छन् । हाटबजार सञ्चालनमा आएसँगै वडा नम्बर १४, १८, १९ का अन्य वडा र  कैलारी गाउँपालिका स्थानीयलाई सहजता हुने अपेक्षा गरिएको छ ।  बिगतका वर्षहरुमा तरकारी उत्पादन गरेपनि बजार नपाउँदा  समस्या हुने गरेको थियो । अब त्यो बाध्यता अन्त्य भएको धनगढी उपमहानगरपालिका १९ का स्थानीय दिपेन्द्र पोखरेलले बताउँछन् । यहाँ संकलन भएका उत्पादन बजारसम्म पुर्याउन पनि सहज हुने उनको भनाई छ । किसानले उत्पादन गरेको तरकारीहरु सुपथ मूल्यमा बिक्री गर्न हाटबजारले सहयोग पुग्ने हाटबजारका अध्यक्ष कृष्णप्रसाद चौधरीले बताए ।

घर आँगनमै हाटबजार सञ्चालनमा आएपनि किसानहरु पनि तरकारी खेतीतर्फ लाग्न उत्साहित भएको उनको भनाई छ । किसानलाई मात्रै होइन हाटबजार सञ्चालनमा आएपछि उपभोक्तालाई पनि सहज भएको धनगढी उपमहानगरपालिका १८ का अर्का स्थानीय खेम आचार्यले बताए । उनले सानो क्षेत्रफलमा लगाएर पनि किसानले तरकारी बिक्री गर्न सक्ने बताए ।  सुदूरपश्चिम सामुदायिक कृषि तथा पशु हाट बजारले २०६५ सालमा हाट बजार सञ्चालनको तयारी गरेको थियो । बिभिन्न समस्याका कारण अधुरो रहेको योजना १३ वर्ष पछि पुरा भएको हो । निर्वाचनको समयमा प्रत्येक वडाहरुमा कृषि तथा पशु हाटबजार सञ्चालन गर्न योजना बनाएको धनगढी उपमहानगरपालिकाले आफ्नो योजना पूरा गरेको जनाएको छ । हाटबजारका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा  बिभिन्न अगुवा किसानहरुलाई सम्मान पनि गरिएको थियो ।

किसान सम्मानित

सुदूरपश्चिम प्रदेशमा भारतीय केरा आयात रोक्नु पर्ने मागसहित आन्दोलनमा उत्रिएका केरा कृषक लक्षीराम आचार्यलाई सम्मान गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा शनिबार हाटबजार उद्घाटन समारोहमा कृषक आचार्य सहितका कृषकहरूलाई सम्मान गरियो ।

कार्यक्रममा कैलालीको टीकापुरका किसान टेकेन्द्र धामी, कञ्चनपुर गुलरियाका सुरेन्द्र चौधरी तथा महेन्द्रनगरका किसान पूर्ण साउदलाई सम्मान गरियो । त्यस्तै, तरकारी कृषक राजु चौधरी, टेकराज जोशी, भगीरथ भण्डारी र टेकराज ओझालाई पनि सो अवसरमा सम्मान गरियो । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले किसानहरुलाई दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सम्मान गरिएका केरा आन्दोलनका अगुवा कृषक लक्षीरामले सरकारले किसानहरूका समस्या सम्बोधन गर्न जहिले पनि उदासिनता देखाउने गरेको गुनासो गरे । उनले भने– सरकारी ऐनकानून, नीति कृषकका पक्षमा छन्, तर व्यवहारमा वास्तविक किसानका समस्या ज्यूँ का त्यूँ नै रहेको अवस्था छ । उनले कृषकहरूलाई समयमै मलखाद, आवश्यक वीऊबिजन, कृषि उपकरणहरू उपलब्ध गराउनेतर्फ सरकारले ध्यान दिन माग गरे ।

उनले भने– कृषिबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ । यसका लागि सबैभन्दा बढी सरकार नै गम्भीर हुनुपर्दछ । उनले युवाहरूलाई कृषिमा आकर्षण गर्न सरकारले समयानुकुल नीति ल्याउनु पर्ने र विद्यमान नीति, ऐन कानून प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।