कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–१ ढक्का हिरापुर बस्ने वृद्धा हत्या प्रकरणको प्रहरीले अनुसन्धान जारी राखेको छ । ७१ वर्षीया वृद्धा खण्टी भुलको घरभित्रै विभत्स हत्या भएको अवस्थामा आइतबार दिउँसो शव फेला परेको थियो ।
घरमा एक्लै बस्ने वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनाको कञ्चनपुर प्रहरीले अनुसन्धान गरिरहेको छ । तालिम प्राप्त कुकुर समेत परिचालन गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए । घटना सम्बन्धी सोधपुछका लागि प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिएको छ ।
मृतक खण्टी भुलका भाइ हिरे भुलका अनुसार, खण्टी भुलले सधैंजसो नाक, कान र घाँटीमा तीन तोला जतिका सुनका गरगहना लगाइराख्ने गरेको र सोही गहना लुट्न हत्या भएको हुन सक्ने आशंका गरिएको छ । मृतकको नाकमा सानो बुलाकी बाहेक अन्यत्र कुनै पनि गरगहना नभेटिएको प्रहरीले जनाएको छ ।