सुदूरपश्चिम प्रदेशका थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
2020/12/31, 6:38
 
corona

सुदूरपश्चिम प्रदेशका थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ६ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४ सय ४६ नमूना परीक्षण गर्दा सुदूरपश्चिमका थप ४८ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका १६ जनामा संक्रमण देखिएको जानकारी दिए ।

कैलालीकै गोदावरी नगरपालिकाका १० जना र गौरीगंगा नगरपालिकाका २ जनामा समेत संक्रमण पुष्टि भएको छ । उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका ३÷३ जना, बेल्डाँडी गाउँपालिकाका १ जना, बाजुराको बडिमालिका नगरपालिकाका ८ जना र डडेल्धुराको अमरगढी नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

जिल्ला अस्पताल बझाङमा पछिल्लो २४ घण्टामा ७७ जनाको परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला ईन्चार्ज नरेश खड्काले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा थलारा गाउँपालिकाका ५ जना र जयपृथ्वी नगरपालिकाका एक जना रहेका छन । यस्तै उता डडेल्धुरा अस्पतालको प्रयोगशाला र अछामको कमलबजार प्रयोगशालामा ७÷७ जना, बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा ६ जना र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ३ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ७९ पुगेको छ । संक्रमण पुष्टि भएका १० हजार ९ सय ८० जना डिस्चार्ज भएका छन् ।