सुदूरपश्चिम प्रदेशका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
2021/01/01, 9:37
 
corona

सुदूरपश्चिम प्रदेशका थप ३७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ३७ जनाको कोरोना पोजेटिभ आएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा ३० जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ३० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०२ नमूना परीक्षण गर्दा १४ महिला र १६ पुरुष गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकामा १३, कैलालीको गोदावरी नगरपालिकाका ३ जना, घोडाघोडीका नगरपालिकामा एक जनामा संक्रमण  पुष्टि भएको छ ।

यस्तै, कञ्चनपुरको भिमदत्तका ५ जना, शुक्लाफाँटाका ३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै दार्चुला २ डडेल्धुरा, बैतडी, बझाङका एक एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।  डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षण थप ७ जनामा कोरोना पोजेटिभ आएको छ । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ६ सय १६ पुगेको छ ।