मन्त्री आले भन्छन्- वन मन्त्रालयलाई उत्कृष्ट बनाउँछु
2021/01/02, 3:25
 
prem ale

 वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेमगरले आफूले जिम्मेवारी पाएको वन मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने बताएका छन् ।

शुक्रबार गृहजिल्ला डोटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आलेमगरले भने, ‘म हालसम्मका मन्त्रीमध्येकै उत्कृष्ट मन्त्रालय बनाउने छु, मेरो समय छोटो छ यसका बिचमा पनि म राम्रो काम गर्ने छु ।’

वन तथा वातावरण संरक्षणको जिम्मेवारी पाएका आलेलाई कुनै बेला वन विनाशको अभियोग लागेको थियो । डोटी जिल्ला साविक छतिवन गाविस–९ मा स्थायी घर भएका उनले सोही गाविसको वडा नम्बर ८ र ५ मा सल्लाको रुख काटेको मुद्दा अदालतमा पुगेको थियो । १० वैशाख २०५५ मा हालका मन्त्री आलेले साविक छतिवन–८ घर भएका राधेश्याम बडायरसँग मिलेर काठ तस्करी गरेको वनरक्षक प्रेमबहादुर खड्काले दायर गरेको अभियोग पत्रमा उल्लेख छ । तर १४ वैशाख २०५७ मा आले र बडायर दुवैले जिल्ला अदालतबाट सफाइ पाएका थिए ।

रोचक त के छ भने प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी स्थलगत अध्ययन गर्न गठन गरेको उपसमितिमा पनि आलेमगर नै सदस्य थिए ।

आलेमगरले भने आफूलाई रिसइबीका कारण वन मुद्दामा फसाइएको दाबी गर्दै आएका छन् ।

कार्यक्रममा मन्त्री आलेले नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलतर्फ संकेत गर्दै सुदूरपश्चिमको राजनीतिमा अब ‘रावलहरु’का दिन सकिएको समेत बताए ।