सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण घट्यो, १३ जनामा कोरोना पुष्टि
2021/01/03, 11:20
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण घटेको छ । पछिल्लो केही दिन यता परीक्षण सुस्ताएको हो ।  पीसीआर मेसिन भएका केही जिल्लाको प्रयोगशालामा पछिल्लो दिनयता परीक्षण समेत गरिएको छैन । परीक्षण घटेपछि कोरोना पुष्टि हुने संख्या पनि घटेको छ ।

आइतबार कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० र अछामको कमल बजार प्रयोगशालामा गरिएको परीक्षणमा ३ गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रदेशका सामाजिक विकास मन्त्रालयले प्रदेशभरि १३ जना संक्रमित थपिएको जनाएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोशालामा पछिल्लो २४ घण्टामा जम्मा ६२ नमूना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार आइतबार थपिएका संक्रमितमा कैलालीका दुई, कञ्चनपुरका आठ, अछामका तीन जना रहेका छन् । 

कोरोना परीक्षण सुस्ताए पनि प्रदेशमा सक्रिय संक्रमितको संख्या भने कम छैन । दुई हजार ५७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, प्रदेशभरि गरेर हालसम्म ११ हजार २५ जनाले कोरोना जितेका छन् ।