पश्चिम नेपालका थारु गाउँमा माघीको तयारी सुरु
2021/01/05, 5:41
 
maghi

थारु समुदायको नयाँ वर्ष माघी (माघ) पर्वको लागि कैलालीका थारु गाउँहरुमा तयारी सुरु भएको छ । सो समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले हप्ता दिन अगाडिदेखि नै तयारी थालिएको हो । यो समुदायका मान्छेहरु माघीका लागि आवश्यक पर्ने सामानको व्यवस्था गर्ने कार्यमा जुटेका छन् । थारु समुदायले पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म तीन दिन धुमधामसँग माघी पर्व मनाउने गरेको छ । माघ १ गतेबाट थारु सम्वत सुरु हुने गर्दछ । 

माघी नजिएकाले गाउँघरमा आवश्यक तयारीको चटारो चलेको भजनी नगरपालिका–२ मोहनपुरका स्थानीय गङ्गा चौधरीले बताए । उनका अनुसार दाउरा सङ्कलन, पात टिपेर दुनाटपरी बनाउने, कुटानी पिसानी लगायतका कार्यहरु धमाधम भईरहेका छन् । माघीमा चामलको पिठोको ढिक्री खाने गरिन्छ । सोको लागि कुटानी पिसानीका काम धमाधम भईरहेका छन् । 

आवश्यक सरसामान खरिदका लागि मेलापात पनि भइरहेको स्थानीय चन्द्रप्रसाद चौधरीले बताए । ‘यतिखेर थारु बस्ती माघीको तयारीमा जुटेको छ ।’ उनले भने–‘विस्तारै माघीको चहलपहल सुरु भइसकेको देख्न सकिन्छ ।’  गतविगतमा माघी पर्व अवसरमा थुप्रै स्थानमा हप्तादिन अगाडिदेखि नै मेला, महोत्सव आयोजना हुने गरेको थियो । तर, यो वर्ष कोरोना महामारीका कारण मेला महोत्सव लगाइएको छैन । यद्यपि, महत्वपूर्ण पर्व भएकाले गाउँघरमै रमाएर मनाउनका लागि आवश्यक तयारी भइरहेको चौधरीले उल्लेख गरे ।  

माघी पर्वपछि थारु समुदायमा विवाह, नयाँ काम लगायतका कार्यको थालनी हुने गर्दछ । यो पर्वको बेला गाउँको नेतृत्व गर्ने भलमन्सा पनि चयन गर्ने गरेका जनाइएको छ ।