सुदूरपश्चिम प्रदेशका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २ सय ८ नमूना परीक्षण गर्दा कैलालीका थप २० जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी उप–महानगरपालिकाका १८ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै कैलालीकै टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका १/१ जनामा समेत संक्रमण पुष्टि भएको छ ।
यस्तै उता डडेल्धुरा अस्पतालको प्रयोगशाला ६ जना, बैतडीका ६ जना, डाटीका ६ जना र अछामको कमल बजार प्रयोगशालाका ३ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय २८ पुगेको छ । संक्रमण पुष्टि भएका ११ हजार ७६ जना डिस्चार्ज भएका छन ।