डोटीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाईते
2021/01/08, 12:02
 
bhalu

डोटीको आदर्श गाउँपालिका–१ मा जंगली भालुको आक्रमणमा परि दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ८४ वर्षीय रामबहादुर खड्का र उहाँकी पाँच वर्षीया नातिनी सरस्वती खड्कालाई भालुले आक्रमण गरेको हो । 


हिजो बेलुकी खेतबारीको काम सकेर घर फर्किँदै गर्दा उनीहरुलाई घर नजिकै भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनीहरुको दिपायलमा रहेको शैलश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा आहाराका लागि आउने जङ्गली जनावरले बर्सेनि आक्रमण गर्ने गरेकोे सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले जानकारी दिए । आक्रमण गर्ने भालु अहिले पनि गाउँमै घुमी रहेका कारण नियन्त्रणमा लिन स्थानीय बासिन्दाले प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।