बाजुराको आईसोलेसनमा रहेका बालकको मृत्यु, कोरोना परिक्षणको रिपोर्ट आउन बाँकी 
2020/05/31, 10:27
 
korona

बाजुराको सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएका एब बालकको मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो । बुढिगंगा १ का २ बर्षीय बच्चाको आईतवार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुरा प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए । 

मृतक बालकको स्वाब संकलन गरेर पिसिआर रिपोर्टका लागि धनगढी प्रयोगशाला पठाईएको छ । पिसिआर रिर्पोट भने आउन बाँकी रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । मृतक शवल रिपोर्ट पछि मात्र के गर्ने भन्ने निर्णय लिने अस्पतालले जनाएको छ ।

बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको आइसोलेसनमा रहेका बालकको अववस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा शुक्रबार साझँ राखिएको थियो ।  ती बालकमा पखाला, ज्वरो, श्वास प्रश्वासको समस्या रहेको चिकित्सकले बताएका छन् । ८ दिन अघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएर बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा परिवार सहित बसेका बालक बिरामी भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा लगिएको थियो ।

बालकसँगै आइसोलेसनमा उनका आमा र बुवा समेत राखिएको छ । मृत्यु भएका बालक भारतबाट आउने क्रममा बाटोमा बिरामी भएको आफन्तले जनाएका छन् । स्वाब संकलन गरेर तीनै जनाको पिसीआरका लागि धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको छ ।