कैलालीको हौसलपुर गाउँ: बसाई नेपालमा, पढाई भारतमा
2021/01/17, 9:58
 
gau

कैलालीको कैलारी गाउँपालिका–७ हौसलपुरकी राजमती चौधरी कक्षा ९ मा अध्ययन गर्छन्। उनी अध्ययनकै लागि छिमेकी देश भारतमा रहेको सरस्वती शिशु विद्या मन्दिरमा जान्छिन्। ‘नेपालको विद्यालयमा जान नदी पार गर्नुपर्छ’, उनले भनिन्,। ‘भारतको विद्यालमा जान सजिलो हुने हुँदा उतै अध्ययन गर्ने गरेको छु।’ त्यहीका पुष्पेन्द्र चौधरी भारतकै स्कुलमा बिए प्रथम वर्षमा अध्ययन गर्दैछन्।

उनलाई नेपाली भाषा र किताब कस्तो हुन्छ थाहा छैन। ‘मलाई हिन्दी र थारु भाषा आउँछ,’ उनले भने। भारतको पढाइले योग्यता बढाउन काम लागेको उनको भनाइ छ। ‘यहाँ भारतबाट बिहे गर्नुपरे पनि पढाइ काम लाग्छ,’ उनले भने।  भारतको पढाइले नेपालमा जागिर खान पाइन्छ कि पाइँदैन, उनलाई थाहा छैन। हौसलपुरका बासिन्दा खेतीपाती, पशुपालन र केहीले अन्य ठाउँमा गएर मजदुरी गर्छन् । ‘हामी भारतमा पढ्ने भएकाले स्कुलमा हिन्दी, अंग्रेजी र संस्कृत पढ्छौं। नेपालमा नपढेकाले हामी नेपाली भाषा जान्दैनौं र बुझ्दैनौं,’ कक्षा ८ मा अध्ययनरत राजाराम चौधरीले भने। स्कुल भए गाउँमा पढ्ने उनले बताए । नेपाली भाषा सिक्न पनि जरूरी रहेको उनको अनुभव छ।

‘यदि हाम्रो गाउँमा पुल बनेको भए, स्कुल बनेको भए हामी नेपालमै पढ्न सक्थ्यौं,’ उनले भने। यो बस्तीमा करिब ५५ जना स्कुल पढ्ने केटाकेटी रहेको छन्। ‘नेपालका स्कुल जान मिल्ने बाटो छैन हाम्रो गाउँमा,’ अर्को स्थानीय हरेन्द्र चौधरीले भने, ‘पढाउन पठाउँ भने बाढी आउँछ यता। बाटो र पुल नभएका कारणले हामी टापुमा बसेका छौं। नेपाल जान नसकेर हामी केटाकेटीलाई भारतमै पढाउँछौँ।’ उनीहरू कोही पैदल, कोही साइकल लिएर भारतको स्कुलमा जान्छन्। 

नेपाल–भारत सीमा नजिकको सो गाउँमा नेपालीभन्दा भारतीय शिक्षादिक्षा, भेषभूषा, बोली, संस्कार र मुद्रा प्रचलनमा रहेको छ। साइनो सम्बन्ध बढी उतैको गाउँ बेलापरसुवासंग हुने गरेको छ। बालबालिकाको आधारभूत शिक्षाकालागि एउटा विद्यालय र मोहना नदीमा झोलुङ्गे पुलको मागगर्दै आएपनि अहिलेसम्म सुनुवाई नभएको गाउँका भलमन्सा बिक्रम चौधरीले गुनासो गर । राज्यले उपेक्षा गरेको गाउँमा सुविधा उपलब्ध गराउनका लागि राजनीतिक दलहरुले समेत पहल नगरेको उनको दुखेसो छ ।

२८ घरपरिवारको बसोबास रहेको सो गाउँमा करिब डेढसय जति मतदाता छन्। जनसंख्या २ सय ६० जना जति छ। त्यहाँका नागरिकसँग आफूले प्रयोग गरेको जमिनको लालपुर्जा छैन।भोट माग्नकालागि कहिलेकाँही जाने गरेका छन्।नेपाल–भारत सीमा साँध स्पष्ट नदेखिने ठाउँमा हौसलपुर गाउँवासी जङ्गे पिल्लरको रुपमा बसोबास गरेका छन्। भारतीय सुरक्षाकर्मीको ज्यादति सहेर उनीहरु आफ्नो देशको भूमी रक्षा गर्दै आएका छन्।

धनगढी–सत्ती हुलाकी सडक हुँदै वसन्ता क्षेत्रको सुरूको विन्दुबाट दक्षिणतिर खेती लाउन किसानले बनाएका बाटो हुँदै हौसलपुर जानुपर्छ।कैलारी गाउँपालिकाले हौसलपुरसहित अरु सिमावर्ती बस्तीको विकासका लागि विशेष कार्यक्रम लागू गरेर बजेटको व्यवस्था गरेको जनाएको छ। गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले हौसलपुरमा यसै वर्ष ग्राभेल बाटो बनाउने काम भएको बताए।