नरभक्षी बाघ नियन्त्रणका लागि आज बर्दिया राष्ट्रिय निकुन्जको प्राविधिक टोली कैलाली आउने भएको छ । पहिले टोलीले बाघ घुमिरहेको ठाउँ पत्ता लगाउने र त्यसपछि हात्ती ल्याएर बाघलाई डार्टको प्रक्रिया थाल्ने डिभिजन बन प्रमुख रामचन्द्र कडेलले जानकारी दिए ।
नरभक्षी बनिसकेको वयस्क पाटेबाघ गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकाका सामुदायिक वनमा घुमफिर गरिरहेको छ । कैलालीमा मान्छेमाथि आक्रमण गरिरहेको नरभक्षी पाटेबाघको लोकेशन पत्ता लगाउनका लागि चार ठाउँमा क्यामेरा समेत थापिएको छ ।
दुधिया, उदासीपुर, बढैपुर, राजिपुर, अण्डैया क्षेत्रमा बाघले मुभमेन्ट गरेको छ । बाघले आइतबार अपराह्नतिर गौरीगङ्गा नगरपालिका–५ अण्डैयाकी २५ वर्षीया कला धामीको ज्यान लिइसकेको छ । पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकी धामीमाथि बाघले आक्रमण गरेको थियो । आक्रमण गरेको केही पर धामीको शव फेला परेको थियो ।
यसैगरी, शुक्रबार कैलारी गाउँपालिका–८ स्थित सीताकुँवा सामुदायिक वनमा दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि बाघले आक्रमण गरेको थियो । विवाहका लागि सालको पात टिप्न गएका चौधरी बाघसंगको जम्काभेटमा घाइते भएका थिए । पिठ्युँ र टाउकोमा बाघले घाउ बनाएको छ । चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ