धनगढी उपमहानगरपालिका– ३ चटकपुर र कञ्चनपुरको राजघाट हुँदै बग्छ, मोहना नदी । नदीमाथि एउटा पक्की पुल निर्माणाधीन अवस्थामा छ । अहिले हैन त्यो पुल ७ वर्ष अघिदेखि निर्माण भइरहेको हो तर अझै पूर्णता पाउन भने सकेको छैन । नदीमा पुल नहुँदा आवत–जावत गर्न स्थानीयलाई निकै सास्ती हुन्छ ।
‘नदी तरेको पैसा तिर्नुपर्छ’
निर्माणाधीन पुलको नजिकै नदीमाथि काठे पुल छ । त्यहाँको सामुदायिक वनले काठेपुलबाट नदी तरेबापत सर्वसाधारणबाट रकम लिन्छ । ओहोर–दोहोर गरेबापत प्रतिमोटरसाइकल २०, साइकल र प्रतिव्यक्ति १० तथा अटो रिक्साको ५० रुपैयाँ शुल्क तिर्नुपर्ने बाध्यता छ ।
धनगढी उपमहानगरपालिका– ३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट बस्तीका नागरिकले मोहना नदी वारपार गर्दा वर्षौंदेखि शुल्क तिर्दै आएका छन् । दुई जिल्लाको सीमा भएर बग्ने नदीमा बनाएको काठको अस्थायी पुल तरेबापत स्थानीयवासीले वर्षौंदेखि पैसा तिर्दै आएको कञ्चनपुरका स्थानीय हर्क चौधरीले बताए । कञ्चनपुरका स्थानीय वासिन्दा यो नदी हुँदै दूध, तरकारी बेच्न र उपभोग्य सामान किन्न, बैंकिङ कारोबार, रोजगारी तथा औषधि उपचार लगायत कामका लागि दैनिक तीन/चार सयको हाराहारीमा धनगढी बजार पुग्ने गरेका छन् ।
‘यो नदी दिनमा चारपटक वारपार गर्नुपर्छ,’ धनगढीमा दूध बचेर घर फर्किंदै गरेकी पुनर्वासकी मीना महराले भनिन्, ‘बिहान र साँझ दुईपटक धनगढी दूध पुर्याउन जानुपर्छ, के गर्नु एकपटक नदी तरेको १० रुपैयाँका दरले दैनिक ४० रुपैयाँ तिर्नुपरिरहेको छ ।’
‘२८ वर्ष भयो यो नदी तर्न थालेको, धेरै समस्या भोग्यौं,’ उनले थपिन्, ‘कतिलाई बगायो नदीले, कतिले ज्यान गुमाए, कति अझै बेपत्ता छन् । अहिले त काठे पुल भएर केही सजिलो भएको छ । पहिले त कि डुंगा नभए नदीमा पौडी खेल्दै जानुपर्थ्यो ।’ अब त पक्की पुल बन्ला भन्ने आश पनि मरिसकेको उनले बताइन् । ‘पक्की पुल बन्न थालेको पनि ७ वर्ष बित्यो, अझै बनिसकेको छैन,’ उनले भनिन्, ‘अब त यो पुल बन्ला भन्ने आशा पनि छैन ।’
उनीसँगै धनगढी बजारमा तरकारी बेचेर घर फर्किरहेकी शोभा रानाको पीडा पनि उस्तै छ । उनले पनि दैनिक ४० देखि ६० रुपैयाँ काठेपुल तरेबापत बुझाउँदै आएकी छन् । ‘गुजारा चलाउन तरकारी बेच्नै पर्छ । वर्षाैं भयो यो नदी तर्न लागेको पुल अझै बनेको छैन । छिटो पुल बनेको भए त निकै सहज हुन्थ्यो । तरकारी बेचेकोमध्ये दैनिक ४० देखि ६० रुपैयाँसम्म त काठेपुलमा तिर्नुपर्छ ।’
निर्माणाधीन पुलनजिकै रहेको काठे पुलमा मानिस र मोटरसाइकल मात्र लैजान सकिन्छ । त्यसको आधा किलोमिटर माथि अर्को काठे पुल बनाइएको छ, जहाँ पुलमा ओहोरदोहोर गरेबापत प्रतिमोटरसाइकल २०, साइकल १०, प्रतिव्यक्ति १० र अटो रिक्साको ५० रुपैयाँ शुल्क कायम गरिएको छ । ‘नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोर–दोहोर गर्नै मुस्किल हुन्थ्यो,’ पुलका चौकीदार प्रदीप चौधरीले भने, ‘काठे पुलले सजिलो भएको छ ।’
‘वर्षैपिच्छे नयाँ अस्थायी पुल निर्माण गर्नुपर्छ,’ उनले थपे, ‘हरेक वर्ष नयाँ अस्थायी पुल बनाउछौं र वर्षातमा फेरि नदीले बगाएर लैजान्छ ।’
७ वर्षसम्म अल्झियो पुल
तीन वर्षमा काम सक्ने गरी सडक डिभिजन कार्यालय कञ्चनपुरले एलाइड एड्भेञ्चर जेभीसँग २०७१ सालमा ८ करोड रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार तीन वर्षअघि नै निर्माण भइसक्नुपर्ने पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र पर्यो ।
सम्झौता अवधिमा पुलको पिलर निर्माणको काम मात्रै सकिएपछि सडक डिभिजन कार्यालयले निर्माण अवधि दुई वर्ष थपिदियो । दुईपटक गरी थपिएको २ वर्षको म्यादमा पुल निर्माण नभएपछि तेस्रोपटक पनि एक वर्षको म्याद थप भयो । उक्त म्याद यही पुस मसान्तमा सकियो तर पुल निर्माण कार्य अझै सम्पन्न भएको छैन ।
निर्माण कम्पनीका सञ्चालक चन्द्रशेखर मल्ल भने पुल निर्माण अन्तिम चरणमा रहेको दाबी गर्छन् । ‘काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने यही आर्थिक वर्षभित्र काम सम्पन्न हुन्छ।’ पुल निर्माणमा आफ्ना कारण मात्र ढिलाइ नभएको उनको जिकिर छ ।
‘पुल निर्माणमा ढिलाइ भएकै हो, म माफी माग्छु,’ उनले भने, ‘तर मेरो लापरवाही मात्र हैन । पहिलो दुई वर्ष ‘रिभ्यू डिजाइन’मै लाग्यो । थप एक वर्ष भारतले लगाएको नाकाबन्दीले असर पार्यो । अब २०७७ भित्रै पुल निर्माण सम्पन्न हुन्छ ।’
चौथो पटक म्याद थप्ने तयारी, ७० प्रतिशत भुक्तानी
पछिल्लो पटक थप गरिएको म्याद पुस मसान्तमा सकिएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । ‘ठेकेदारको लापरवाहीले तेस्रोपटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन सकेन,’ सडक डिभिजन कार्यालयका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले भने, ‘कूल १२० मिटर लामो पुल निर्माण हुन लागेको हो । अब निर्माण अन्तिम चरणमा छ । फूटपाथको काम मात्रै बाँकी छ । एक महिनाभित्रै सम्पन्न हुन्छ ।’
‘कोरोनाका कारण काम प्रभावित भएको भन्दै निर्माण कम्पनीका सञ्चालकले फेरि म्याद थप्न निवेदन दिएका छन्,’ उनले भने, ‘६ महिनासम्म म्याद थप हुन सक्छ ।’ पटक–पटक गरी सञ्चालक मल्लले ७० प्रतिशतभन्दा बढी भुक्तानी लगिसकेको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । पुल नहुँदा नदी तर्नका लागि यात्रुले सास्ती खेप्दै आएका छन । बर्खा याममा नदीमा डुङ्गा र हिउँदमा काठे पुलबाट स्थानीय बासिन्दाले नदी तर्नुपर्ने बाध्यता छ।
दुई जिल्लाको सीमामा बग्ने मोहना नदीमाथि पुल नहुँदा त्यहाँका स्थानीय बासिन्दा दूध र तरकारी बेच्न, उपभोग्य सामान किन्न, बैंकिङ कारोवार, रोजगारी तथा औषधि उपचार लगायत कामका लागि दैनिक पैसा तिरेर यात्रा गरिरहेका छन् । अझ बर्खाको समयमा त काठेपुल पनि नहुँदा डुंगाबाट नदी तर्नुपर्ने बाध्यता रहेको खबरलाई लोकान्तरमा जिवन विष्टले लेखेका छन् ।