कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव स्थित खल्ला मछेट्टीकी उमादेवी भण्डारी त्यहाँ बसोबास गरेको १२ वर्ष भयो । द्वन्द्वका बेला ऐलानी जग्गा फाडेर बसोबास गरेकी उनीसँगै अन्य परिवारका व्यक्तिले पनि कठिन जीवनयापन गर्दै आएका थिए, आधारभूत सेवा सुविधा नहुनाले ।
सुगम जिल्ला कञ्चनपुरको निकै दुर्गम क्षेत्र मानिने खल्लाकी भण्डारीको जीवनमा १२ वर्षपछि खुशीको दीप जलेको छ । सडक सञ्जाल पुग्नुकासाथै, गाउँमा बिजुली बलेपछि उनी हर्षित भएकी हुन । विगतमा विद्युतबाट टाढा रहेको मछेट्टीको जनजीवन विद्युतको पहुँचमा आएपछि लवाइखवाइमा नै परिवतर्नन आएको भण्डारी बताउँछिन् ।
‘विद्युतसँग जोडिन नपाउँदा हाम्रो घरमात्रै हैन, जीवन नै अँध्यारो जस्तै थियो’, उनले भनिन्–‘नदी किनारको बस्ती भएपनि सिँचाइ गर्नलाई मोटर नलाग्ने अवस्था थियो । विद्युतको पुहँच भएको छ । हाम्रो दैनिकी सहज भएको छ ।’
विगतमा खल्ला मछेट्टीका स्थानीय विद्युतको उपभोग गर्न एक घण्टाको दुरीमा अवस्थित ब्रह्मदेव बजार जाने गरेका थिए । केहीदिन अगाडिदेखि प्रथम चरणमा नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा महेन्द्रनगरले विद्युतको लाइन छोडेपछि सो गाउँ झिलिमिली भएको छ । गाउँको घरमा बिजुली बत्ती बलेको भण्डारीले बताइन् । भीमदत्त नगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच साझेदारी भएपछि विकट गाउँ खल्ला मछेट्टीमा विद्युत विस्तार भएको छ । २०५५ सालदेखी बस्दै आएको बस्तीमा बिजुली बलेको देख्दा आफूलाई धेरै खुसी लागेको भण्डारी बताउँछिन् ।
‘हाम्रो गाउँको पारि अर्थात नदी पारि भारत पर्छ । विगतमा पारि उज्यालो वारि अध्यारो हुने गरेको थियोे’, भण्डारीले भनिन्, ‘अहिले भने विगत–विगत जस्तो रहेन, पारि बिजुली हेरेर चित्त बुझाउने पुराना दिन गए । हाम्रो घरमा पनि बिजुलीी बलेको छ । त्योसँगै वारि पनि झिलीमिली भएको छ ।’ सदरमुकामबाट टाढा रहेको चुरेफेदीको बस्ती ३ ओटा गाउँ मिलेर बनेको छ । खल्ला, मछेट्टी र टुडिखेल । चार सय बढी घरधुरी रहेको सो क्षेत्र विकासबाटमात्रै हैन, आधारभूत आवश्यकताबाटसमेत बञ्चित रहेको थियो ।
अब भने, सडक र विद्युत पाएको स्थानीयले बताएका छन् । विगतमा सिँचाइको लागि अकाशे पानीको भर पर्दै आएकोमा अब त्यस्तो बाध्यता नहुने भण्डारीले बताइन् । विद्युत मोटरबाट सिँचाइ गर्न सकिने उनले उल्लेख गरिन् । यसैगरी लीला पुनमगरले पनि गाउँमा बिजुली बल्दा आफ्नो खुसीको सीमा नै नरहेको बताइन् । उनले बिजुली नभएका कारण राति पढाईबाट बञ्चित भएका बालबालिकाले पनि पढ्न पाएको बताइन् । ‘विगत अध्यारोमै बिताएको हुँदा झट्ट उज्यालो आउँदा खुशीको सीमानै रहेन । दुईटा छोरी छन् उनीहरुले बिजुली बल्दा खुशीले उफ्रीन थालेका छन् ।’ उनले भनिन्–‘साझ बिजुली बाल्यौं । बिजुलीको उज्यालोसंगै हामी सबैको मुहार पनि खुशीले उज्यालो भयो ।’
विद्युत पुग्नुभन्दा अगाडि सो गाउँको जीवन टुकी र सौर्य उर्जाको भरमा चलेको थियो । यसैगरी, कतिपय समय त आगो बालेर पनि कटाएको पुनमगरको भनाइ छ । ‘पुराना दिनमा अझै स्मरणीय छन् । कुनै दिन त आगो बाल्न पनि दाउरा हुदैनथ्यो, बालबच्चालाई पढाउनका लागि टुकी बालेर जेनतेन गुजारा गर्ने गरेका थियौं’, उनले भनिन्, ‘सोलार आएपछि पनि पैसा हुनेले सोलार लगायो नहुनेले आगो नै बाल्नु पर्याे । अब भने पैसा नुहनेका पनि दिन आएको छ । हामी सबैको घरमा बिजुली बलेको छ ।’ विद्युत पुगेपछि पुराना अध्यारोमै जीवन बिताउनु पर्ने बाध्यताको अन्त्य भएको उनले बताइन् ।
यसैगरी मछेटीका स्थानीय खेमसिंह साउदले विद्युत पुगेपछि दुर्गम विकटका स्थानीयले विकासको आभास गर्न पाएको बताउँछन् । विगतका दिनमा विगट क्षेत्र भनेर हेपिदै आएको क्षेत्र पछिल्लो पटक भने विकाससँग जोडिदै गएको साउदको भनाइ छ । ‘विगतमा सदरमुका क्षेत्र लगायत सीमा क्षेत्रका बजारहरुमा विकट क्षेत्र भनेर चिनिएको थियो । बजारमा गएपछि पनि विकट क्षेत्रको भनेर हामीहरु हेपिनु पर्ने बाध्यता थियो ।’ उनले भने–‘अहिले बिजुली बत्ती पुगेको छ । बिजुली बलेर बस्ती झिलीमिली भएपछि मन हर्षित भएको छ । योसँगै सडक सञ्जालसँग पनि जोडिएका छौ । विकासको अनुभूति हुन थालेको छ ।’
विगतमा दुर्गम तथा विकट क्षेत्र भनेर हेपिएको क्षेत्र अहिले विकासका थुप्रै पूर्वाधारसंग जोडिएको छ । बिजुली, सिँचाइ, सडक जस्ता कुराहरुमा गाउँलेको पहुँच भएको छ । यस्तै नेपाली फोनको टावर नसमाउने बस्तीमा नेपाल टेलिकमको टावर पनि सञ्चालनकै चरणमा रहेको छ । यस्तै विगतमा विभिन्न विकासका दृष्टिकोणले पछि परेको खल्ला मछेट्टी अब पुरानो खल्ला मछेट्टी नरहेको उनले बताए । ‘हाम्रो ठाउँमा पनि विकाससंगै सुविधा बढ्दैछ’, उनले भने ।