धनगढीमा फर्जी कलेज चलाएर पौने करोड ठगी गर्ने राजाराम चौधरी पक्राउ
2021/01/22, 6:11
 
raa

धनगढीमा बर्षाैदेखि ठगी गर्दै आएको धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । फर्जी प्रक्रियाबाट सञ्चालित उक्त इन्स्टिच्युटका सञ्चालक राजाराम चौधरी र उनलाई सघाउने शिवकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । कैलालीको गौरीगंगा–८ का स्थानीय रहेका इन्स्टिच्युटका सञ्चालक राजारामले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाम बेचेर विद्यार्थीलाई ठगेको खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले चौधरी लामो समयदेखि ठगी कार्यमा संलग्न देखिएको बताए । ‘अनुमति विना नै गैरकानुनी रूपमा संचालन गरी ईन्टिच्युटमा अध्ययनरत एक सय १८ जनाबाट चौधरीले ४९ लाख लाख ८ हजार चार सय रकम असुली गरेको देखिएको छ,’ उनले भने, ‘ठगी गरेको जाहेरी दरखास्तको आधारमा मुद्दा दर्ता गरी अनुसन्धान पूरा भएको थियो । कैलाली जिल्ला अदालतले २ महिना कैद र तीन लाख ८ हजार जरिवनाको फैसला सुनाएको थियो । लामोसमयदेखि फरार रहेका चौधरीलाई आज पक्राउ गरिएको हो ।’ चौधरीले थप १९ लाख ६५ हजार ठगी गरेर फरार भएको जाहेरीसमेत प्रहरीमा परेको थियो । 

प्राविधिक विषय पढाउने कलेज रहेको र कृषि जेटिए, भेटनरी अध्यापन हुने भन्दै विद्यार्थीहरुबाट रकम असुली गरिएको थियो । तर परिक्षा नै सञ्चालन नभएपछि विद्यार्थीहरुले ठगी भएको भन्दै आन्दोलनसमेत गरेका थिए । यसअघि पनि चौधरीले पटक–पटक विद्यार्थीलाई ठगेपछि एक पटक पक्राउ परेका थिए । तर ९९ लाख धरौटीमा छुटेका चौधरीले फेरी ठगी धन्दा सुरु गरेपछि धेरै विद्यार्थीको भविष्य अन्यौलमा परेको थियो । चौधरीले त्रिभुवन विश्वविद्यालयबाट मान्यता दिलाउने भन्दै कैलालीका विभिन्न व्यक्तिबाट समेत रकम असुली गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।