दार्चुलामा अज्ञात समूहद्धारा ट्रकमा आगजनी
2021/01/23, 5:41
 
aagjani

दार्चुलामा अज्ञात समूहले ट्रकमा आगजनी गरेको छ । गोकुलेश्वरबाट गईरहेको सुप्रप ००१ क १५४८ नम्बरको ट्रकमा शनिवार दिउँसो शैल्यशिखर नगरपालिका—९ नक्तड (ठूलशैन) जंगल नजिक आगजनी भएको हो । आगजनीबाट ट्रकको अगाडीको भागमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर ऐेरीले जानकारी दिए । 

ऐरीका अनुसार इलाका प्रहरी कार्यालय गोकुलेश्वरले आगलागी कस्ले र कसरी भयो भन्नेबारे अनुन्सधान भइरहेको छ ।  प्रहरीले ट्रक साहु र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिएको छ । आज नेकपा विप्लव समूहले नेपाल बन्द आव्हान गरेकाले प्रहरीले स्कटिङमा गाडीलाई लगिरहेको थियो । तर उक्त ट्रक चालकले गोकुले चेक प्वाइन्टमा आफु नजिकै जाने भनेर ढाँटेको प्रहरीले जनाएको छ । नजिकै जाने भनेर चेक प्वाइन्ट पार गरेको उक्त ट्रक दार्चुला सदरमुकामबाट ६५ किलोमिटर टाढा पुगेपछि आगजनी भएको प्रहरी निरीक्षक ऐरीले बताए ।