दुहुँ गाउँपालिकाले सबै वडामा तरकारी तथा फलफूलका पकेट क्षेत्र स्थापना गर्ने
2021/01/24, 11:08
 
tarkari

दुहुँ गाउँपालिकाले सबै वडामा एक/एक वटा तरकारी तथा फलफूलका पकेट स्थापना गर्ने भएको छ। ‘कृषि क्षेत्रको अभिवृद्धि दुहुँ गाउँपालिकाको समृद्धि’ को नारालाई आत्मसात् गर्दै फलफूल तथा तरकारीको उत्पादनमा जोड दिएको गाउँपालिकाले जनाएको छ। साथै ‘एक वडा एक वटा तरकारी कार्यक्रम सञ्चालन मार्फत् पालिका भित्र तरकारी तथा फलफूलको उत्पादनमा प्रवद्र्धन गरी आत्मनिर्भर बन्ने लक्ष्य गाउँपालिकाले लिएको छ।

कृषकलाई गाउँमै फलफूल तथा तरकारीको विरुवा सहज रुपमा उपलव्ध गराउन सो कार्यक्रम शुरु गरिएको गाउँपालिकाका नायब प्राविधिक साहयक धिरक सिह बोहराले जानकारी दिए। कोरोनाका कारणले विदेशबाट फर्किएका तथा रोजगारी गुमाएकालाई गाउँमै कृषि क्षेत्रमा स्वरोजगारका अवसरहरु सृजना गर्ने र रोजगारीका लागि विदेशिने क्रम न्यूनीकरणको गर्न कृषिलाई प्राथमिकतामा राखिएको उनले बताए।

गाउँपालिकाको चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएबमोजिम सम्भावना र उपलव्धतालाई मध्यनजर गरी सम्पूर्ण वडामा नर्सरी स्थापना कार्यक्रम कार्यान्वयनका लागि कृषक, कृषक समूह, नीजि फार्म तथा कृषि सहकारीहरुसँग प्रश्ताव आह्वान गरी कार्यक्रम कार्यान्वयन शुरु गरिएको गाउँपालिका पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए। विभिन्न तरकारी,फलफूल उत्पादन गरी कृषकलाई सहुलियत दरमा वितरण गर्ने गरी सबै वडामा नर्सरी स्थापना हुने गाउँपालिकाले जनाएको छ।

जिल्लाको दुहुँ गाउँपालिकाले चालु आर्थिक वर्षमा यो कार्यक्रमका लागि झण्डै २५ लाख ७५ हजार रुपैँया बजेट बिनीयोजन गरेको जनाएको छ। गाउँपालिकाले समृद्धिको प्रमुख आधारमा रुपमा पर्यटन र कृषिलाई राखेको छ। कोरोना भाइरसको सङ्क्रमणबाट पर्यटन क्षेत्र प्रभावित भएपछि गाउँपालिकाले कृषि विकासमा ध्यान केन्द्रित गरेको छ। युवा वर्गलाई कृषिमा आकर्षित गराउन पालिकामा ‘अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रम’, गत वर्षदेखि सञ्चालनमा रहेको जनाएको छ।

गाउँपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण, व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिन कृषि उपकरण तथा औजार उपकरणमा अनुदान दिने कार्यक्रमलाई चालू आवमा पनि कार्यान्वयनमा ल्याउने गाउँपालिकाले जनाएको छ।