डोटीमा तस्विर सहितको मतदाता नामावली सङ्कलन
2021/01/25, 10:08
 
mater

डोटीमा तस्विर सहितको मतदाता नामावली सङ्कलन सुरुवात भएको छ ।  जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ ।

जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि व्यापकरुपमा अघि बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दलबहादुर मलासीले जानकारी दिए । उनले भने, “वैशाखमा हुने निर्वाचनका लागि हामीले सबै कार्य अगाडि बढाएका छौँ, निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल पनि भइरहेको छ ।”

आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेकोसमेत उनले जानकारी दिए । कार्यालयका अनुसार विसं २०७४ मा भएको निर्वाचनभन्दा आगामी वैशाखमा हुने निर्वाचनमा कम्तीमा पनि १० प्रतिशत मतदाता थपिने भएका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा कूल ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष गरी कूल एक लाख छ हजार ५४३ मतदाता रहेका थिए ।

उक्त निर्वाचनमा सङ्घीय प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४।७९ प्रतिशत मत खसेको थियो भने समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । खसेका मतमध्ये प्रत्यक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । कार्यालयका अनुसार जिल्लामा अहिले कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयले यही माघ १५ गतेदेखि २१ गतेसम्म दाबी विरोधको समयसमेत तोकेको छ । जिल्लाका कूल महिला ६२ हजार ३४१ र पुरुष ५५ हजार २७६ मतदाता रहेका छन् । माघ १५ देखि २१ सम्म नौवटै स्थानीय तहको कार्यालयमा दाबी विरोधको समय राखिएको छ । उक्त अवधिमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने, केन्द्र सच्याउने जस्ता काम हुने कार्यालय प्रमुख मलासीले जानकारी दिए ।

जिल्लामा आठ वटा मतदान केन्द्र बढ्नसक्ने सम्भावना रहेको बताइएको छ । विसं २०७४ को निर्वाचनमा जिल्लाका ११५ स्थानमा कूल १५७ मतदान केन्द्र रहेका थिए । अहिले मतदाता सङ्ख्या बढेकाले १६४ वा १६५ सम्म हुने सम्भावना रहेको कार्यालयले जनाएको छ ।

दिपायल सिलगढी नगरपालिका–६ मा रहेको साविकको शैलेश्वरी विद्यालयको मतदान केन्द्र र बडीकेदार गाउँपालिका–४ डिकेवनमा रहेको केन्द्र सार्नुपर्ने अवस्था रहेको  कार्यालय प्रमुख मलासीले बताए । उनले भने, “सिलगढीमा रहेको शैलेश्वरी विद्यालय अर्को विद्यालयमा गाभिइसकेको हुँदा त्यहाँबाट केन्द्र सार्नुपर्ने देखिन्छ ।

बडिकेदारको डिकेवनमा रहेको वडा कार्यालयमा आगजनी भएपछि भवन नभएका कारण मतदान केन्द्र सानुपर्ने अवस्था आएको छ ।” मतदान स्थलहरु थप्नु पर्ने जनाउँदै विभिन्न क्षेत्रबाट माग आएको भए पनि व्यवस्थापन गर्न समस्या हुने भएकाले तत्काल थप्नका लागि निकै गृहकार्य गर्नु उनको भनाइ छ ।

आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी कार्यक्रमहरु अघि बढाइरहेको बताइएको छ ।