भारतबाट आएकाहरुलाई खाना पानी खुवाउने क्रम जारी
2020/06/01, 8:14
 
sima

भारतबाट आएकाहरुलाई खाना पानी खुवाउने क्रम जारी रहेको छ । विभिन्न मनकारीहरुले खाना पानी खुवाउने कामलाई निरन्तरता दिईरहेका हुन् ।  भारतबाट आएका नेपालीहरुलाई खाना र पानी अभियान अन्तर्गत १ हजार ८ सय जनालाई खाना खुवाईएको छ । समाजसेवी श्याम तायलको अगुवाईमा जारी खाना पानी अन्तर्गत भारतका बिभिन्न शहरबाट गौरीफन्टा नाका हुदै आएका १ हजार ६ सय व्यक्तिलाई खाना र पानी उपलब्ध गराइएको हो । त्यस्तै बी पोलिटेक्निक र नवदुर्गा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेका २ सय  जनालाई खाना र पानी वितरण गरिएको थियो । 

खाना पानी अभियानमा ग्लोवल फार्मेसीका तर्फबाट गोविन्द अधिकारीले ५ सय जनालाई खाना र पानी वितरण गरेका थिए । भारतबाट आएका नेपालीहरुलाई १ सय ५० कार्टुन मिनरल वाटर वितरण गरिएको थियो । भारतबाट नेपालीहरु आउनेक्रम शुरुवात भएकै दिन देखि नागरिकस्तरबाट उनीहरुका लागि खाना र पानी अभियान थालिएको हो । अभियानका अगुवा तायलले नेपालीहरु  भारतबाट आउने क्रम जारी रहेसम्म खाना पानी अभियान जारी रहने बताए ।

चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मान सिंह साउँद, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको सहभागितामा भारतबाट आएका नेपालीहरुका लागि खाना र पानी अभियान शुरु गरिएको हो । पत्रकार दीर्घराज उपाध्यायले अभियानको संयोजनकारी भूमिका निर्वाह गरिरहेका छन् । अभियानमा राउण्ड टेबल नेपाल, हाम्रो सानो प्रयास अभियान, काठमाण्डौं, मारवाडी युवा मञ्च लगायत देश विदेशबाट बिभिन्न मनकारी व्यक्तीहरुले साथ दिदै आएका छन् ।