सुदूरपश्चिममा कोरोना जित्नेको संख्या सात पुग्यो, डडेल्धुराका युवक पनि १० दिनमा निको 
2020/06/01, 8:30
 
korona

सुदूरपश्चिममा सातौं व्यक्तीले पनि कोरोनालाई जितेका छन । डडेल्धुराको परशुराम  नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवकले कोरोना जितेका हुन । डडेल्धुरा अस्पतालमा उपचारतर उनको दुई पटकको कोरोना परिक्षण नेगेटिभ आएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई पटक रिर्पोट नेगेटिभ आएपछि उनलाई डडेल्धुरा अस्पतालबाट डिस्चार्ज गर्न लागिएको छ । दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको डडेल्धुरा अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले जानकारी दिए ।
संक्रमितको दुई पटक नमूना परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गर्ने गरिएको छ ।

सरकारी कर्मचारी समेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । डडेल्धुरा अस्पतालको आईसोलेसनमा उपचाररत युवकले १० दिनमै कोरोना जितेका हुन । यो सँगै सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ७ पुगेको छ । 

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी युएईको दुबईबाट फर्किएका थिए । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।

लम्कीका २१ बर्षीय युवक भारतबाट फर्किएका थिए । बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु पाँचै जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन । यस्तै अछामका एक जना पनि निको भएर घर फर्किएका हुन् । उनी बलम्बुको कोभिड –१९ अस्पतालबाट १६ दिनमा कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।