सुदूरपश्चिममा दश हजार बढीलाई लगाईयो कोरोना  विरुद्धको खोप
2021/02/03, 8:30
 
death

सुदूरपश्चिम प्रदेशमा दश हजार बढी व्यक्तीलाई कोरोना भाइरस विरुद्धको (कोभि शिल्ड) खोप लगाइएको छ । प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म दश हजार ३३ जनालाई खोप लगाइएको हो । 


बुधबार मात्रै प्रदेश भरीका नौ सय ४८ जनालाई कोरोना विरुद्धको खोप लगाईएको छ । मंगलबारसम्म नौ हजार ८५ जनालाई खोप लगाईएको थियो ।

माघ १४ गतेदेखि बुधबारसम्ममा दश हजार ३३ जनालाई खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।  प्रदेशमा सबैभन्दा बढी कैलालीमा खोप लगाईएको छ । 

सरकारले सुदूरपश्चिम सहित देशका सबै प्रदेशमा माघ १४ गतेदेखि पहिलो चरणको कोराना विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरेको हो । पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कैदीबन्दी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक र कोरोनाका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाउने कार्य भइरहेको छ ।  

भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप संघीय सरकारले सुदूरपश्चिमका लागि ३६ हजार डोज खोप पठाएको थियो । सुदूरपश्चिममा माघ १४ गतेदेखि शुरु भएको पहिलो चरणको खोप अभियान माघ २८ सम्म सञ्चालन हुनेछ ।

प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए भने पहिलो खोप निर्देशक डाक्टर गुणराज अवस्थीले लगाएका थिए ।