नेकपाको प्रचण्ड–माधव समूहले गरेको आम हड्तालको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि परेको छ । बन्दले गर्दा प्रदेशको जनजीवन प्रभावित भएको छ ।
संवैधानिक निकायमा सरकारले प्रक्रिया मिचेर एकतर्फी रूपमा नियुक्ति गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले विरोधमा आज देशव्यापी आम हड्तालको गरेको हो । बन्दका कारण सुदूरपश्चिममा अधिकांश क्षेत्रमा प्रभाव परेको छ ।
प्रदेशका सबै जिल्लामा यातायात सेवा ठप्प रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिए । आम हड्ताल आह्वानका कारण सुदूरपश्चिमका नौ वटै जिल्लामा यातायात, बजार, उद्योग, शिक्षा लगायतका सम्पूर्ण क्षेत्र ठप्प भएका छन् ।
सार्वजनिक यातायात सेवा सञ्चालन हुन सकेका छैन् । उनले भने, ‘रोकिएका सवारी साधनलाई नेपाल प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पु¥याउँदैछ ।’ प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढी, अत्तरिया, कञ्चनपुरको महेन्द्रनगर, झलारी, डडेल्धरा, बैतडी, डोटी, दार्चुला लगायतका मुख्य बजारहरू बन्द छन् ।
आज लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । बन्दकर्ताहरूले प्रदेशका सबैजसो जिल्लाका राजमार्ग तथा सडकहरूमा सरकार विरुद्ध नाराबाजी र टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन
बन्दकर्ताले प्रदर्शन गरिरहेका भए पनि अहिलेसम्म प्रदेशका कुनै पनि ठाउँबाट तोडफोड तथा आगजनीको कुनै घटना भएको जानकारी नआएको ट्राफिक प्रहरीको भनाइ छ । सरकारले भने प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताएको छ ।
नेपाल प्रहरीले बन्दलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएकाले निर्धक्क सार्वजनिक यातायात सञ्चालन गर्न आग्रह गरेको भएपनि सवारी गुड्न सकेका छैनन् ।
बन्दलाई नै लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । ‘बन्दका कारण कुनै अप्रिय घट्ना नहोउन भनेर सुरक्षा व्यवस्था कडाई गरेका छौं ।’उनले भने ।
लामो तथा छोटो दूरीका सवारी साधन नचलेपछि काम विशेषले गन्तव्य जाने यात्रुहरु समस्यामा परेका छन् ।