बन्दाबन्दीले स्थानीय आलुले बजार पायो, किसान खुशी
2021/02/04, 4:56
 
aalu

गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिर समेत भयो ।

दार्चुलाको आलुले बजार पाएको यो पहिलोपटक हो । आलुले बजार पाउन थालेपछि किसान निकै खुशी भएका छन् ।  बन्दाबन्दीले बाहिरबाट आलु ल्याउन नसकिरहेको बेला स्थानीय उत्पादनले बजार पाएपछि किसान आलुखेतीमा लागेका छन् ।

उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले आलु उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।  आलु नगदेबाली भएको कारण उत्पादन अनुसारको प्रतिफल मिल्ने भएपछि किसानले आलुखेती लगाउन थालेका छन् ।

विगतमा आलु बिक्री गर्ने बजार नहुँदा समस्या भोगेका किसान अहिले भने आलुखेतीमा व्यस्त छन् । दार्चुलामा गत आवमा जिल्लामा वर्षेतर्फ ३५३ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो भने ४ हजार ६९४ दशमलव ९ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।

हिउँदेतर्फ जिल्लाभरि ३०२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको जनाइएको छ भने ३ हजार ९२६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश पन्तले बताए ।  कृषि कार्यालयका अनुसार चालू आवमा वर्षेतर्फ ३५५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ । जसमा ४ हजार ७२१ मेट्रिक टन आलु उत्पादन भएको पन्तले जनाए ।

किसानलाई जिल्लाको शैल्यशिखर नगरपालिका–६ अन्तर्गत पर्ने ग्वानी क्षेत्रमा चक्लाबन्दीमा आलु ५० प्रतिशत अनुदानमा ५० क्विन्टल आलुको बीउ वितरण गरिएको छ । हिउँदेतर्फ ३०५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत दार्चुलालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गर्ने योजना अघि सारेपछि जिल्लाका ९ वटै स्थानीय तहका किसान यतिबेला उत्साहित  भएका छन् ।

ज्ञान केन्द्रका अनुसार गत वर्षको वर्षे आलुखेतीभन्दा यो आवको वर्षे आलु उत्पादनमा २६ दशमलव ६ मेट्रिक टन आलु उत्पादनमा वृद्धि भएको छ ।

आलु खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलुखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कार्यालय प्रमुख पन्तले जानकारी दिए ।