बाजुरामा हिमपात, जनजीवन कष्टकर
2021/02/05, 9:39
 
himpat

बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसँगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । 

समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात भएको छ । बिहीबार रातिबाट बर्षासँगै हिमपात हुन थालेपछि किसान खुशी भएका हुन् । 

लामो समयसम्म पानी नपरेपछि लगाएका हिउँदेबाली खेतमै सुक्ने भनेर चिन्तित बनेका यहाँका किसान बर्षासँगै हिमपात हुन थालेपछि अब बाली सप्रिने भन्दै उनीहरु उत्साहित भएका छन् ।

'यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर भरोसा मारिसकेका थियौँ', बाजुरा गौमुल गाउँपालिकाका किसान मिलन रोकायाले भने, 'एक्कासी बर्षासँगै हिमपात हुन थालेपछि अब हिउँदे बाली उत्पादनमा वृद्धि हुने आस पलाएको छ ।' हिउँ र पानीले अन्‍नबाली सप्रिनुका साथै सुक्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने भन्दै आफूहरु खुशी भएको उनको भनाइ छ । 

हिमपातले कृषकमा खुशीयाली ल्याए पनि यहाँका व्यापारी भने चिन्तित भएका छन् । भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानी बन्द हुन्छ कि भनेर व्यापारी चिन्तित भएका हुन् । बाजुरा जिल्लाको माथिल्लो भेगको सामान तल्लो भेग सदरमुकाम मार्तडीबाट सडक मार्ग भएर आउने भएकाले बढी हिमपात भएमा कच्ची सडक बिग्रने र पोरखे लेकमा सडक बन्द भएर दैनिक उपभोग्य सामानको अभाव हुन्छ कि भनेर व्यापारी चिन्तित भएका हुन् । 

अहिले उच्च हिमाली क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य छन् । एक्कासी बादल लागेर हिउँ पर्न थालेपछि निकै चिसो बढेको छ । चिसोमा न्यानो कपडा लगाउन र झोलिलो तातो खानेकुरा खान स्थानीय प्रशासनले आग्रह गरेको छ ।

निरन्तर हिमपात भइरहेकाले गाइबस्तु गोठभन्दा बाहिर निकाल्न सकिएको अवस्था छैन् । चिसोको मार बालबालिका र वृद्धवृद्धामा बढी देखिएको हो । बाजुरामा यो वर्ष पहिलो पटक हिमपात भएको हो । हिमपात नहुँदा धुलो र धुँवाका कारण मौसमी रुघाखोकीको प्रकोप बढ्ने सम्भावना थियो ।

यहाँका बडिमालिका नगरपालिका, बूढीन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ भने तलो क्षेत्रमा वर्षा भइरहेको छ ।