
भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाले सोमबार बच्चा जन्माएकी छन् । त्रिवेणी नगरपालिका–९ पैमामा रहेको पार्वती माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिमा सोही नगरपालिका पैमाकी बहादुर नेपालीकी २३ वर्षीया श्रीमती परु नेपालीले बच्चा जन्माएको वडाध्यक्ष बीरबहादुर विष्टले जानकारी दिए ।

क्वारेन्टिनमा बेथा सुरु भएपछि सुत्केरी महिलाको आरडिटी परिक्षणपछि सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रमा सुत्केरी भएकी हुन । भारतबाट आएर क्वारेन्टाइनमा बसेको अवस्थामा महिलाले बच्चा जन्माएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताए । सुत्केरी महिलाको आरडिटी रिपोर्ट नेगेटिभ भएकाले नेपालीलाई अलग्गै राखेको प्रहरी प्रवक्ता रोकायाले बताए ।
दुई सुत्केरी महिला क्वारेन्टिनमा
बुढीगंगा नगरपालिका–१ धुरालसैन माध्यमिक विद्यालयमा वडा कार्यालय बनाएको क्वारेन्टिनमा दुई सुत्केरी महिला बस्दै आएका छन् । भारतबाट आएकी दुवै जना महिला सो क्वारेन्टिमा बसेकी छन् । सोही नगरपालिका १ मल्लाकुँडीका विनोद चदारकी २० वर्षीया तुलसी चदाराले शनिबार क्वारेन्टिनमा नै बच्चा जन्माएकी हुन् । यस्तै अम्कोटकी २० वर्षकी पुजा नेपाली पनि भारतबाट नै सुत्केरी भएर आएकी हुन् ।

उनी पनि हाल धुरालसैन माविको क्वारेन्टिमा बसेकी छन् । चदाराले बच्चा जन्माएको तीन दिन भएको छ भने नेपालीले बच्चा पाएको एक साता वितेको छ । जिल्लामा रहेका क्वारेन्टिन सुरक्षित नहँुदा संक्रमण फैलिने सम्भावना बढी रहेको छ ।