कैलालीमा साविकको निर्वाचन भन्दा पाँच वटा मतदानस्थल थपिने
2021/02/09, 10:26
 
education

आगामी वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लामा साविकको निर्वाचनभन्दा पाँच वटा मतदानस्थल थपिने भएको छ ।

विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लाभरी २३१ मतदानस्थल रहेकामा नयाँ थपिसमेत गरेर जम्मा २३६ मतदानस्थल पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ मा पर्ने गोदावरी नगरपालिकाको हाटखोली, र बल्मी तथा चुरे गाउँपालिकाको बालुवागडामा नयाँ मतदानस्थल थप्न लागिएकोे हो।

यसैगरी निर्वाचन क्षेत्र–२ मा पर्ने मोहन्याल गाउँपालिकाको साब गाउँमा र निर्वाचन क्षेत्र–५ को धनगढी उपमहानगरपालिका–१४ को एच गाउँमा नयाँ मतदानस्थल थप्न सिफारिस गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए।

निर्वाचन क्षेत्र–४ को बालुवागडा र हाटखोली गाउँका मतदाताले मतदान गर्न विगतको निर्वाचनमा दिनभरीको बाटो हिँड्नुपर्ने बाध्यता रहेको थियो। नयाँ मतदानस्थल थप्न सिफारिस गर्न लागिएको भए पनि अन्तिम निर्णय भने निर्वाचन आयोगले गर्ने कार्यालय प्रमुख भट्टले बताए। जिल्लामा प्रतिनिधिसभा सदस्यका पाँच निर्वाचन क्षेत्र रहेका छन्।

प्रतिनिधिसभा विघटन भई विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा भएसँगै जिल्लामा निर्वाचनको तयारीस्वरुप मतदाता नामावली अध्यावधिकलगायतको काम भइरहेको छ। जिल्लामा पछिल्लो तीन वर्षमा आठ दशमलव पाँच प्रतिशतले मतदाता थपिएका छन्। थपिएका मतदातासमेत गएको पुस ५ गतेसम्म कूल पाँच लाख ४६ मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार लाख ६० हजार ५७८ मतदाता रहेका थिए। जिल्लामा पुरुषको भन्दा महिला मतदाता बढी छन्। दुई लाख ५६ हजार २०४ महिला मतदाता र दुई लाख ४३ हजार ८३२ पुरुष मतदाता पुगेका छन् । तेस्रो लिङ्गी मतदाता दश जना छन्।