कञ्चनपुरको भीमदत्त नगरपालिका १२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको सकुशल उद्धार गरिएको छ।
महाकाली नदीमा एक्कासी पानीको बहाव बढ्न जाँदा मलामी गएका उनीहरुको मंगलबार दिउँसो प्रहरीले उद्धार गरेको हो। नदीको बीच भागको टापुमा शव जलाउने क्रममा फसेकाहरुलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर थापा क्षेत्रीले बताए।
प्रहरीका अनुसार भारतको टनकपुरस्थित एनएचपीसीद्वारा टनकपुर पावर हाउसको सफाइ गर्न महाकाली नदीमा पानी छाडेपछि नदीमा पानीको बहाव एक्कासी बढेको थियो।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो। ब्यारेज सफा गर्नेबारेको सूचना जारी गरे पनि सूचनाको अभावका कारण नदीमा फसेको प्रहरीको भनाइ छ।